काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले पार्टीको सम्पूर्ण ध्यान अब आगामी प्रदेश तथा स्थानीय तहको निर्वाचनमा केन्द्रित हुने बताएका छन्।
रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै सहमहामन्त्री शिवाकोटीले कांग्रेसले हालै भव्य रूपमा महाधिवेशन सम्पन्न गरिसकेकाले अब मुलुकको विकास र नागरिकलाई सम्मानित बनाउने अभियानमा जोडतोडका साथ लाग्ने स्पष्ट पारे।
"हामीले विगतका कमी-कमजोरीहरूबाट गम्भीर शिक्षा लिएर आगामी दिनको राजनीतिक यात्रा तय गर्नेछौँ," सहमहामन्त्री शिवाकोटीले भने, "हाम्रो ध्यान कुनै पनि हालतमा सरकार ढाल्ने खेलमा छैन, आगामी निर्वाचनमार्फत प्रदेश र स्थानीय तहमा पार्टीलाई सशक्त एवं प्रभावकारी बनाउन नै हाम्रा प्रयासहरू केन्द्रित हुनेछन्।"
सरकारको कार्यशैलीप्रति टिप्पणी गर्दै उनले दुई तिहाइको शक्तिशाली सरकार बने पनि आम जनताले देशमा शान्ति र स्थायित्वको अनुभूति गर्न नसकेको दाबी गरे। हिजो नागरिकमा गुम्सिएको आक्रोशलाई तत्कालीन नेतृत्वले समयमै सम्बोधन गर्न नसक्दा 'जेनजी आन्दोलन' को परिस्थिति सिर्जना भएको स्मरण गराउँदै उनले वर्तमान सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र सरकार स्वयं पनि जनताका प्रश्नहरूबाट भाग्न नमिल्ने बताए।
"हिजो जनतालाई ठूला-ठूला सपना देखाएर सत्तामा पुगेको रास्वपाले सोही अनुरूप काम गरेर देखाउन सकेको छैन," उनले अगाडि भने, "सरकारमा पुगेपछि अपेक्षा अनुसार काम गर्न नसक्दा अहिले बालेन सरकारप्रति नागरिकस्तरमा आक्रोश पैदा हुन थालिसकेको छ।"
अहिले प्रश्न गर्ने कलम र आवाज उठाउने मुखहरूलाई बन्द गराउने गम्भीर प्रयास भइरहेको आरोप लगाउँदै शिवाकोटीले रास्वपालाई हिजो चुनावका वेला जनतामाझ बाँडेका सपनाहरू पूरा गर्न आग्रह गरे।
नेपाली कांग्रेसले संसद्, सामाजिक फोरम तथा सञ्चारमाध्यमहरूका माध्यमबाट रचनात्मक प्रतिपक्षको जिम्मेवार भूमिका निर्वाह गरिरहेको उल्लेख गर्दै उनले सरकारका सही कामको समर्थन र गलत कदमहरूको निरन्तर खबरदारी जारी राख्ने प्रतिबद्धता व्यक्त गरे।