रास्वपा नेताहरूको तारन्तार भारत भ्रमण शंकास्पद: पूर्वमन्त्री प्रभु साह

रास्वपा नेताहरूको तारन्तार भारत भ्रमण शंकास्पद: पूर्वमन्त्री प्रभु साह

काठमाडौं। आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कोर टिमले प्रधानमन्त्री बालेन्द्र शाहलाई असफल बनाउन षड्यन्त्र रचिरहेको गम्भीर आरोप लगाएका छन्।

शुक्रबार रौतहटको गरुडामा अग्रगामी मोर्चाको नगर कमिटीद्वारा आयोजित शुभकामना विशेष कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले वर्तमान सरकार बनेको ६ महिना पनि नवित्दै रास्वपाभित्रैबाट प्रधानमन्त्री शाहलाई विस्थापित गर्ने खेल भइरहेको टिप्पणी गरे। उनले वर्तमान सरकारलाई अन्य विपक्षी दलहरूबाट कुनै खतरा नरहेको तर रास्वपाको भित्री टिमबाटै सरकार गिराउने षड्यन्त्र भइरहेको र त्यो चाँडै जनतामाझ छर्लङ्ग हुने दाबी गरे।

अध्यक्ष साहका अनुसार रास्वपा सभापति रवि लामिछाने, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र पूर्वउपसभापति एवं वर्तमान सभामुख डिपी अर्यालले प्रधानमन्त्री शाहलाई असफल बनाउन मोर्चाबन्दी कसेका छन्।

सोही क्रममा साहले रास्वपा सभापति लामिछानेको अघिल्लो भारत भ्रमण, चीन भ्रमणको तयारी र हाल पुनः धार्मिक यात्राका नाममा भएको भारत प्रस्थानलाई शङ्कास्पद रूपमा हेरिनुपर्ने बताए। अर्थमन्त्री वाग्लेसमेत भारत भ्रमणमै रहेको सन्दर्भ जोड्दै उनले रास्वपाको शीर्ष टोलीको बारम्बारको भारत भ्रमणलाई सामान्य रूपमा लिन नसकिने तर्क गरे।

पूर्वमन्त्री साहले रास्वपाको कोर टिमले प्रधानमन्त्री बालेन शाहलाई आगामी स्थानीय तहको निर्वाचनसम्म मात्र उपयोग गर्ने रणनीति बनाएको दाबी गर्दै त्यसतर्फ सजग रहन सुझाव दिए। रास्वपाको सिङ्गो पार्टी पङ्क्ति केवल चुनावकेन्द्रित बनेको र उनीहरूलाई देश र जनताको हितप्रति कुनै चिन्ता नरहेको आरोपसमेत उनले लगाए।

"घण्टीहरूलाई कुर्सी र सत्ताको मात्र चिन्ता छ। चुनाव कसरी जित्ने र पद कसरी हत्याउने भन्नेबाहेक उनीहरूलाई देश र जनताका समस्याको कुनै वास्ता छैन। यस्ता अवसरवादी सोच भएकाहरूबाट सबै सचेत हुनुपर्छ," साहले भने।

यसैगरी, रास्वपाभित्र रवि लामिछाने समर्थक कार्यकर्ताहरू उग्र बनेको र उनीहरूले सामाजिक सञ्जालको वातावरण दुषित बनाएको टिप्पणी पनि साहले गरे। उनले घण्टीका कार्यकर्ताहरूलाई सामाजिक सम्बन्ध र मर्यादाको ज्ञान नभएकाले सञ्जालमा तल्लो स्तरको गालीगलौजमा उत्रिने गरेको आरोप लगाए।