काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई उनका दाजु हरिशरण लामिछानेले देशको राजनीतिक, सामाजिक र वातावरणीय सुधारका लागि विभिन्न पाँचबुँदे महत्त्वपूर्ण सुझाव दिएका छन्।
दशैंको अवसरमा भएको पारिवारिक तथा गैरराजनीतिक भेटघाटका क्रममा विभिन्न विषयमा छलफल भएको उल्लेख गर्दै हरिशरणले सामाजिक सञ्जालमार्फत आफ्ना सुझावहरू सार्वजनिक गरेका हुन्।
उनले रास्वपाले आफ्नो वाचापत्रमा उल्लिखित प्रतिबद्धता अनुसार प्रादेशिक संरचनाबारे स्पष्ट धारणा बनाउनुपर्ने र गैरदलीय स्थानीय तह निर्वाचनका सम्बन्धमा पनि पार्टीले स्पष्ट दृष्टिकोण तय गरेर अघि बढ्नुपर्नेमा विशेष जोड दिएका छन्।
देशमा जलवायु परिवर्तनबाट सिर्जित समस्याहरूको दिगो समाधान खोज्न आग्रह गर्दै हरिशरणले नेपालको जटिल भूबनोटलाई ध्यानमा राखी देशभर आधुनिक पोडवे निर्माणको सम्भावनालाई प्राथमिकताका साथ अघि बढाउन सुझाव दिएका छन्।
विशेष गरी ऐतिहासिक हेटौँडा-काठमाडौँ पुरानो रोपवेलाई आधुनिक पोडवेमा रूपान्तरण गर्न सके राजमार्गको सवारी चाप घटाउनुका साथै वातावरण संरक्षणमा ठुलो योगदान पुग्ने उनको ठहर छ। यसका साथै काठमाडौँ उपत्यकाको जलप्रवाह प्रणालीमा सुधार ल्याउन र भूमिगत जल पुनर्भरण (अन्डरग्राउन्ड वाटर रिचार्ज) योजनाहरूलाई प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याउन पनि उनले जोड दिएका छन्।
नागरिक राहत र ऊर्जा क्षेत्रका सम्बन्धमा सुझाव दिँदै हरिशरणले विपन्न तथा न्यून आय भएका सर्वसाधारणलाई निश्चित अनुपातमा निःशुल्क सेवा-सुविधा उपलब्ध गराउनुपर्ने अवधारणा अघि सारेका छन्।
साथै, घरेलुस्तरमा सौर्य ऊर्जाको प्रयोगलाई प्रोत्साहन गर्दै सर्वसाधारणको आम्दानी बढाउन सकिने गरी 'स्मार्ट मिटरिङ' प्रणालीको विकास गर्नुपर्ने उनको भनाइ छ।
देशको वर्तमान आर्थिक, सामाजिक, राजनीतिक र जटिल भूराजनीतिक परिस्थितिलाई दृष्टिगत गर्दै राष्ट्रिय प्राथमिकता र अल्पकालीन तथा दीर्घकालीन रणनीति तय गर्नुपर्ने औँल्याउँदै उनले राजनीतिक स्थिरता, सुशासन, दिगो शान्ति र राष्ट्रिय समृद्धिका लागि सबै राजनीतिक पक्षहरूबीच साझा सहमति निर्माण हुनुपर्ने धारणा व्यक्त गरेका छन्।