काठमाडौं। पूर्वराष्ट्रपति एवं नेकपा (एमाले) की वरिष्ठ नेता विद्यादेवी भण्डारी बिहीबार चीन भ्रमणमा जाने भएकी छन्। पार्टीको सक्रिय राजनीतिमा पुनरागमन गरेपछि उनको यो पहिलो औपचारिक विदेश भ्रमण हुन लागेको हो।
भण्डारी अक्टोबर २३ देखि २५ (कात्तिक ७ देखि ९ गते) सम्म चीनको हेबेई प्रान्तस्थित सियोङआन नयाँ क्षेत्रमा आयोजना हुने 'ग्लोबल गभर्नेन्स फोरम २०२६' मा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्न लागेकी हुन्। उनका स्वकीय सचिव राजकुमार राईका अनुसार पूर्वराष्ट्रपति भण्डारीले उक्त उच्चस्तरीय फोरममा विशिष्ट अतिथिका रूपमा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।
१०० भन्दा बढी देशका प्रतिनिधिको सहभागिता
चाइनिज पिपल्स इन्स्टिच्युट अफ फरेन अफेयर्स (CPIFA) को आयोजनामा हुन लागेको यस अन्तर्राष्ट्रिय सम्मेलनमा विश्वका विभिन्न मुलुकका पूर्वराष्ट्राध्यक्ष, राजनीतिक नेता, कूटनीतिज्ञ, व्यवसायी तथा सञ्चारमाध्यमका प्रतिनिधिहरू सहभागी हुनेछन्। आयोजक संस्थाका अनुसार ग्लोबल साउथका देशहरूसहित युरोप, अमेरिका लगायत करिब १०० भन्दा बढी राष्ट्रका प्रतिनिधिहरूले कार्यक्रममा सहभागिता जनाउने निश्चित भइसकेको छ।
एआई र विश्वव्यापी शासन प्रणाली छलफलका मुख्य एजेन्डा
सम्मेलनमा मुख्य गरी परिर्वतित विश्व व्यवस्था, बहुपक्षीय सहकार्यको प्रभावकारिता र विश्वव्यापी शासन प्रणालीमा गर्नुपर्ने सुधारका विषयमा गहन छलफल हुनेछ।
यसका साथै, वर्तमान समयमा प्रमुख चुनौतीका रूपमा देखा परेका साइबर सुरक्षा, अन्तरिक्षको प्रयोग तथा व्यवस्थापन, र कृत्रिम बुद्धिमत्ता (एआई) को सुरक्षित प्रयोग एवं यससँग सम्बन्धित विश्वव्यापी नीतिगत ढाँचा तयार पार्ने विषयहरू फोरमका प्रमुख एजेन्डा रहनेछन्।
राजनीतिक पुनरागमन लगत्तै हुन लागेको पूर्वराष्ट्रपति भण्डारीको यो चीन भ्रमणलाई कूटनीतिक तथा राजनीतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ।