नयाँदिल्ली । नेपालका प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ सन् २०२६ को अन्त्यसम्म भारत भ्रमणमा निस्किने अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बताएका छन् ।भारतको नयाँदिल्लीमा शुक्रबार आयोजित एनडीटीभी वर्ल्ड समिट २०२६ मा बोल्दै वाग्लेले प्रधानमन्त्री शाहको सम्भावित भारत भ्रमणबारे जानकारी दिएका हुन् ।
उनले भ्रमणले नेपाल र भारतबिचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा पनि व्यक्त गरे । एनडीटीभीकी पद्मजा जोशीसँगको संवादमा वाग्लेले नेपाल र भारतबिचको सम्बन्ध भौगोलिक निकटतामा मात्र सीमित नभई गहिरो सांस्कृतिक सम्बन्धमा आधारित रहेको बताए ।
कहिलेकाहीँ समस्या देखिए पनि दुवै देश एकअर्कासँग मजबुत रूपमा जोडिएको उनको भनाइ थियो । ‘नेपालको संसारका अरू कुनै देशसँग भारतसँग जस्तो सम्बन्ध छैन,’ वाग्लेले भने ।
वाग्लेले सन् २०१५ को विनाशकारी भूकम्पदेखि हालैको बाढीसम्म नेपाललाई भारतले सहयोग गर्दै आएको उल्लेख गरे । भूकम्प गएको केही घण्टाभित्रै राहत सामग्री बोकेको विमान काठमाडाैँ आइपुगेको स्मरण गर्दै उनले विपद्का बेला भारतले अग्रसर भएर सहयोग गर्ने गरेको बताए ।
गत भदौ १० गते नेपालमा आएको बाढीपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेन शाहलाई फोन गरेर आवश्यक सहयोगको आश्वासन दिएको पनि उनले उल्लेख गरे । वाग्लेले भारतको सहयोग र २ देशबिचको निरन्तर संवादले आपसी सम्बन्ध थप बलियो बनाएको बताए ।
नेपालको नयाँ नेतृत्व भारतसँग अझ राम्रो सम्बन्ध विकास गर्न इच्छुक रहेको वाग्लेले बताए । ‘एक समय नेपालमा राष्ट्रवादको भावनालाई भारतविरोधी सोचसँग जोडेर हेरिन्थ्यो । तर त्यो समय अब समाप्त भएको छ,’ उनले भने । उनको भनाइले नयाँ सरकारको भारतसँगको सम्बन्धप्रतिको दृष्टिकोणलाई संकेत गरेको छ ।
भारतको ‘विकसित भारत २०४७’ अभियानले नेपाललाई समेत फाइदा पुग्ने वाग्लेको भनाइ थियो । भारतको अर्थतन्त्र बलियो हुँदै जाँदा नेपालका लागि व्यापार, पर्यटन र आर्थिक सहकार्यका नयाँ अवसर सिर्जना हुने उनले बताए ।
भारतको मध्यम वर्गको आय र खर्च गर्ने क्षमता बढेसँगै भारतीय पर्यटकको संख्या पनि बढ्ने र त्यसबाट नेपालको पर्यटन क्षेत्र लाभान्वित हुन सक्ने उनको अपेक्षा छ । वाग्लेले नेपाल र भारतबिचको सम्बन्ध स्वत: बलियो नहुने भन्दै त्यसका लागि निरन्तर प्रयास, व्यापार विस्तार र आर्थिक सहकार्य आवश्यक रहेको बताए ।