रवि र बालेनबीच कुनै मतभेद छैन, बाहिरका हल्ला निराधार: रास्वपा नेता यादव

रवि र बालेनबीच कुनै मतभेद छैन, बाहिरका हल्ला निराधार: रास्वपा नेता यादव

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य अंकित यादवले पार्टी सभापति रवि लामिछानेको भारत भ्रमण नितान्त धार्मिक रहेको स्पष्ट पारेका छन्।

रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता यादवले सभापति लामिछानेको भारत भ्रमणले दुई देशबीचको शदीयौँदेखिको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउने दाबी गरे। "उहाँको भारत भ्रमण नितान्त धार्मिक हो," यादवले भने, "यसले नेपाल र भारतबीच रहिआएको 'रोटी-बेटी' को सम्बन्धका साथै शदीयौँदेखिको धार्मिक र सांस्कृतिक एकतालाई अझ मजबुत बनाउनेछ।"

आफू स्वयं 'जेनजी' आन्दोलनका क्रममा घाइते भएको स्मरण गर्दै उनले अब मुलुकमा बारम्बार हुने आन्दोलन र अशान्तिको अन्त्य हुनुपर्नेमा जोड दिए। रास्वपा नेतृत्वको सरकारलाई नागरिकले दुई तिहाइको स्पष्ट जनादेश दिएको उल्लेख गर्दै उनले विपक्षी दलहरूलाई पाँच वर्ष निर्वाध रूपमा काम गर्न दिन आग्रह गरे।

"म आफैँ जेनजी आन्दोलनको घाइते हुँ, तर अब देशमा निरन्तर आन्दोलन हुनुहुँदैन," यादवले थपे, "अहिलेको सरकारलाई काम गर्ने स्पष्ट जनादेश छ। त्यसैले विपक्षीहरूले सडक आन्दोलन नगरी पाँच वर्ष काम गर्ने मौका दिनुपर्छ। अब देशलाई शान्ति र स्थायित्व चाहिएको छ।"

सरकारले विभिन्न सार्वजनिक तथा प्रशासनिक निकायहरूमा योग्य, सक्षम र नेपाली नागरिकलाई नै नियुक्ति दिइरहेकाले यस्ता विषयमा अनावश्यक विवाद झिक्न जरुरी नरहेको उनको भनाइ थियो।

यस्तै, प्रधानमन्त्री बालेन्द्र शाह र रास्वपा सभापति रवि लामिछानेबीच तिक्तता बढेको भन्ने चर्चाको खण्डन गर्दै यादवले दुई नेताबीच कुनै पनि प्रकारको मतभेद नरहेको दाबी गरे। बाहिर आएका हल्लाहरू निराधार र सत्यहीन रहेको जिकिर गर्दै उनले भने, "रवि र बालेनबीचको सम्बन्ध बिग्रिएको दिन म राजनीति नै त्यागिदिन्छु।"

यसैगरी, भोटेकोशी बाढीपीडितका लागि राज्यका सबै उपलब्ध स्रोत र साधन परिचालन गरी राहत तथा उद्धार कार्य भइरहेको पनि उनले बताए। साथै, नेपाल-भारत सीमासम्बन्धी समस्याहरू प्रधानमन्त्री बालेन शाहको आगामी भारत भ्रमणका क्रममा कूटनीतिक माध्यमबाट समाधान हुने विश्वाससमेत उनले व्यक्त गरे।