काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी साता देशको मौसममा पुनः बदली आउने चेतावनी दिएको छ।
विभागकाअनुसार मंगलवारसम्म मौसम सामान्यतया सफा रहने भए पनि बुधवारदेखि बङ्गालको खाडीमा विकसित हुँदै गरेको न्युन चापीय प्रणालीको प्रभाव नेपालमा पर्ने देखिएको हो। गत २४ घण्टामा देशभर कतै पनि उल्लेख्य वर्षा नभएको र मौसम सामान्य रहेको विभागले जनाएको छ। हाललाई देशको मौसम स्थिर रहे पनि कात्तिक १० गतेदेखि १५ गतेसम्म मौसमी प्रणालीमा फेरबदल आउने संकेत देखिएको छ।
मौसमविद् रोजन लामिछानेकाअनुसार उक्त न्युन चापीय प्रणालीका कारण देशका अधिकांश भूभागमा प्रभाव पर्न सक्ने सम्भावना छ। यद्यपि, वर्षाको मात्रा र प्रभावको यकिन अवस्थाबारे अहिले नै भन्न सकिने अवस्था नरहेको विभागले स्पष्ट पारेको छ। यो मौसमी फेरबदलले विशेष गरी कृषि र पर्यटन क्षेत्रलाई प्रभावित पार्नसक्ने आँकलन गरिएको छ।
हाल धान भित्र्याउने समय भएकाले किसानलाई मंगलवारसम्मको अनुकूल मौसमको सदुपयोग गर्दै बाली भित्र्याइसक्न विभागले विशेष आग्रह गरेको छ। कात्तिक ८ गतेपछि कुनैपनि afह्य कार्यक्रम, भ्रमण वा कृषि कार्यको योजना बनाउँदा मौसमी अवस्थालाई ध्यानमा राख्न र पछिल्ला अद्यावधिक सूचनाहरू नियमित रूपमा लिन सचेत गराइएको छ।