संघीय संसद्‌मा ३६ विधेयक विचाराधीन

संघीय संसद्‌मा ३६ विधेयक विचाराधीन

काठमाडौँ । संघीय संसद्का दुवै सदनमा गरी ३६ वटा विधेयक विचाराधीन अवस्थामा छन् । तीमध्ये प्रतिनिधिसभाका विभिन्न विषयगत समितिमा २४ वटा विधेयक विचाराधीन रहेको संघीय संसद् सचिवालयले जनाएको छ । 

संसद् सचिवालयका अनुसार, प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा पाँचवटा, अर्थ समितिमा चारवटा, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, महिला तथा सामाजिक मामिला समिति र कानुन, न्याय तथा मानव अधिकारमा समितिमा तीन/तीनवटा विधेयक विचाराधीन छ । 

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति र राज्यव्यवस्था तथा सुशासन समितिमा दुई/दुईवटा र कृषि तथा प्राकृतिक स्रोत समितिमा एउटा विधेयक विचाराधीन छ । संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार, राष्ट्रियसभाका समितिमा भने कुनै पनि विधेयक विचाराधीन छैन । 

प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रियसभामा प्रस्तुत हुन बाँकी रहेको एउटा विधेयक रहेको छ । राष्ट्रिय सेवा दल विधेयकको सन्देश राष्ट्रियसभामा प्रस्तुत हुन बाँकी रहेको उनले बताए । 
प्रतिनिधिसभाका समितिमा विचाराधीन विधेयकमा अर्थसम्बन्धी केही नेपाल ऐन संशोधन र खारेज गर्ने विधेयक, राहदानी (पहिलो संशोधन) विधेयक, भुक्तानी तथा फछ्र्योटसम्बन्धी विधेयक, फोहोरमैला व्यवस्थापनसम्बन्धी विधेयक, चलचित्र विधेयक, खानी तथा खनिज पदार्थसम्बन्धी विधेयकलगायत छन् ।

"संसद्‌मा नयाँ विधेयक दर्ताको संख्या सात पुगेको छ । अधिवेशन अन्त्य हुने दिन संघीय निजामती सेवा विधेयक, २०८३ दर्ता भएको थियो," उनले जानकारी दिए । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले असोज १६ गते राति १२ बजेबाट लागु हुनेगरी संघीय संसद्को अधिवेशन अन्त्य गरेका थिए । संसद् अधिवेशन अन्त्य भएपछि थप ६ वटा विधेयक दर्ता भएको प्रवक्ता गिरीले जानकारी दिए ।

नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, नेपाल हवाई सेवा प्राधिकरण विधेयक, सुशासन (व्यवस्थापन तथा संचालन) (पहिलो संसोधन) विधेयक, भवन (दोस्रो संसोधन) विधेयक, राष्ट्रिय सडक सुरक्षा विधेयक र नविकरणीय उर्जा तथा उर्जा दक्षतासम्बन्धी विधेयक दर्ता रहेका छन् । 

त्यस्तै, सभामा प्रस्तुत भएर मात्रै रहेको एउटा विधेयक छ । डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक सभामा विचाराधीन रहेको प्रवक्ता गिरीले जानकारी दिए । उनका अनुसार, समितिमा छलफल भएर प्रतिवेदन तयार भइसकेका दुईवटा विधेयक रहेका छन् । संवैधानिक निकायका पदाधिकारीहरूको सेवा, सर्त र सुविधासम्बन्धी पहिलो संशोधन विधेयक, २०८३ को प्रतिवेदन समितिले सभामा पेस गरेर विचाराधीन छ । 

नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयकको भने समितिको प्रतिवेदन तयार भएर सचिवालयमा प्राप्त भएको उनले बताए । उनका अनुसार, संघीय संसद्का दुवै सदनबाट पारित भएर राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेका विधेयकको संख्या १२ रहेको छ । यस्तै, संसदबाट ६ वटा सन्धी तथा महासन्धी पेस भएर पारित भइसकेका छन् ।  

“नयाँ दर्ता विधेयकको सन्दर्भमा अधिवेशन अन्त्य हुने दिन संघीय निजामती सेवा विधेयक २०८३ दर्ता भएको थियो, त्यसपश्चात ६ वटा विधेयकहरू दर्ता भएका छन् । हाल सात विधेयक नयाँ दर्ता भएको अवस्था छ,” उनले भने । 

समितिमा विचाराधीन विधेयकमाथि दसैँको बिदापछि छलफल गर्ने तयारी गरिएको संसद् सचिवालयले जनाएको छ । दसैँ बिदाअघि समितिमा कतिपय विधेयकहरूको दफावार छलफल भइरहेको थियो भने केही विधेयकको सैद्धान्तिक छलफल सुरु गरिएको थियो । बिदापछि समितिमा विधेयकलाई टुंगोमा पुर्‍याउनेगरि छलफल अगाडि बढाउने तयारी गरिएको छ ।