पीएचपीको सुरक्षा कमजोरी हटाइएसँगै सरकारी वेबसाइटहरू पुन: सञ्चालनमा

पीएचपीको सुरक्षा कमजोरी हटाइएसँगै सरकारी वेबसाइटहरू पुन: सञ्चालनमा

काठमाडौं।  वेबसाइट निर्माणमा प्रयोग हुने ‘पीएचपी’ (PHP) प्रोग्रामिङ ल्याङ्ग्वेजमा देखिएको सुरक्षा कमजोरीका कारण गत बिहीबारदेखि बन्द भएका नेपालका सरकारी वेबसाइटहरू पुन: खुल्न थालेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, भन्सार विभाग, यातायात व्यवस्था कार्यालय, मालपोत कार्यालय र नेपाल राष्ट्र बैंकसहित अधिकांश सरकारी निकायका वेबसाइटहरू अहिले सामान्य रूपमा सञ्चालनमा आइसकेका छन्।

साइबर सुरक्षा निकायहरूले पीएचपीको पछिल्लो सुरक्षा अपडेट (प्याच) तत्काल लागू गर्न र अपडेट नसकिउन्जेल सम्भावित जोखिमबाट बच्न वेबसाइटहरू अस्थायी रूपमा बन्द राख्न सुझाव दिएका थिए। सोही निर्देशन अनुसार नेपालका प्रमुख सरकारी वेबसाइट तथा अनलाइन प्रणालीहरू केही दिनका लागि स्थगन गरिएका थिए।

नेपाल सरकारको सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रका अनुसार आवश्यक सुरक्षा प्याच जडान र परीक्षणको कार्य सम्पन्न भएसँगै एक हजार भन्दा बढी सरकारी वेबसाइट तथा अनलाइन सेवाहरू पुन: सञ्चालनमा ल्याइएको हो। बाँकी रहेका केही वेबसाइटहरूलाई पनि यथाशीघ्र सुचारु गर्न केन्द्रका प्राविधिक कर्मचारीहरू निरन्तर खटिरहेका छन्।