काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टीको आन्तरिक सुदृढीकरण र आगामी स्थानीय तहको निर्वाचनको पूर्वतयारीका लागि देशभर ‘राष्ट्रिय जनजागरण अभियान’ सुरु गरेको छ।
रिपोर्टर्स क्लब नेपालमा आयोजना गरिएको एक साक्षात्कार कार्यक्रममा बोल्दै नेकपाका नेता माधव सापकोटाले यस अभियानको मूल ध्येय सरकार ढाल्ने वा आन्दोलन गर्ने नभई विशुद्ध साङ्गठनिक सुदृढीकरण र आगामी स्थानीय तहको निर्वाचनमा लक्षित रहेको स्पष्ट पारेका छन्।
कार्यक्रममा बोल्दै नेता सापकोटाले वर्तमान सरकारको कार्यशैलीप्रति टिप्पणी गर्दै नेकपाले सरकारलाई गुण र दोषका आधारमा समर्थन वा आलोचना गर्ने नीति लिएको बताए। प्रधानमन्त्री बालेन शाहले पुराना दलका अनुभवी नेताहरूसँग समन्वय र सहकार्य नगरी अघि बढ्न खोजेको आरोप लगाउँदै उनले सरकारले निजामती कर्मचारी, सुरक्षाकर्मी र निजी क्षेत्र जस्ता महत्त्वपूर्ण अङ्गहरूसँग दूरी बढाएको दाबी गरे।
सरकारको यही अपरिपक्व रवैया र फितलो कार्यशैलीका कारण आम नागरिकले विभिन्न सास्ती भोग्नुपरेको उनले उल्लेख गरे। चाडपर्वका बेला बजारमा भएको इन्धन तथा ग्यासको चरम अभाव त्यसैको पछिल्लो उदाहरण भएको उनको भनाइ थियो। "दशैँ-तिहार जस्ता ठूला चाडबाडका समयमा समेत जनताले सास्ती व्यहोर्दै ग्यासको अभाव भोग्नुपर्ने स्थिति सिर्जना हुनु सरकारकै ठूलो कमजोरी हो," नेता सापकोटाले भने, "यस्ता जनजीविकासँग प्रत्यक्ष जोडिएका विषयमा हामी संसद् र सडकबाट निरन्तर खबरदारी गर्छौँ। सरकार निरङ्कुशता र अराजकताको बाटोमा हिँड्न खोजे त्यो हामीलाई कदापि स्वीकार्य हुनेछैन।"
यसैगरी, नेकपालाई २१ औँ शताब्दीको युग सुहाउँदो कम्युनिस्ट पार्टीका रूपमा रूपान्तरण गर्न आफूहरू पूर्ण रूपमा सजग र गम्भीर रहेको उनले बताए। पार्टीका शीर्ष तथा अग्रज नेताहरूको योगदान र इतिहासलाई पूर्ण सम्मान गर्दै नेकपाले नीति निर्माण तथा सङ्गठनमा युवा नेतृत्वको विकास र प्रवर्द्धनलाई मुख्य प्राथमिकताका साथ अघि बढाउनेसमेत सापकोटाले स्पष्ट पारे।