कांग्रेसको वरिष्ठ उपसभापति अब नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको संयोजक हुने

कांग्रेसको वरिष्ठ उपसभापति अब नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको संयोजक हुने

काठमाडौँ । यसअघि उपसभापतिको नेतृत्वमा रहने नेपाली कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान अब वरिष्ठ उपसभापतिको संयोजकत्वमा हुने भएको छ । कांग्रेसले १५औँ महाधिवेशनमा विधान संशोधन गरी प्रतिष्ठानको नेतृत्व अब वरिष्ठ उपसभापतिले गर्ने व्यवस्था गरेको हो ।

पार्टीमा वरिष्ठ उपसभापतिको व्यवस्था पनि पहिलो पटक गरिएको हो । उक्त पदमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित भएका छन् ।

नयाँ विधान अनुसार शर्माले नै अब पार्टीको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको नेतृत्व गर्ने छन् । नवनिर्वाचित महामन्त्री प्रदीप पौडेल संयोजकत्वमा रहेको विधान संशोधन मस्यौदा समितिले वरिष्ठ उपसभापतिको नेतृत्वमा प्रतिष्ठान राख्ने प्रस्ताव भर्खरै सम्पन्न १५औँ महाधिवेशनले पारित गरेको हो ।

तर, विधान तयार भएर आइसकेको छैन । विधान मस्यौदा समितिका सदस्य पूर्वसहमहामन्त्री जीवन परियारले प्रतिष्ठान वरिष्ठ उपसभापतिले प्रतिष्ठानको नेतृत्व गर्ने समितिबाट पास भएको बताए ।  ‘समितिमा त्यो कुरा आएर पास भएको हो । अझै विधान बनेर आइसकेको छैन,’ परियारले भने ।

नवनिर्वाचित महामन्त्री उदय शमशेर राणाले पनि प्रतिष्ठान अब वरिष्ठ उपसभापतिको नेतृत्वमा रहने कुराकानी भएको बताए । ‘प्रतिष्ठानको नेतृत्व वरिष्ठ उपसभापतिले गर्ने विषय पास भएको छ । विधान आइसकेको छैन,’ उनले भने ।

यसअघि सभापतिले तोकेको उपसभापतिले प्रतिष्ठानको नेतृत्व गर्ने व्यवस्था विधानमा थियो । विधान संशोधन गर्दै वरिष्ठ उपसभापति बनाएर उसैको नेतृत्वमा प्रतिष्ठानलाई राख्ने व्यवस्था गरिएको हो ।

गत पुस अन्तिम साता भएको विशेष महाधिवेशनपछि सभापति चयन भएका गगन थापाले त्यो बेला तत्कालीन उपसभापति विश्वप्रकाश शर्मालाई प्रतिष्ठानको संयोजकको जिम्मेवारी दिएका थिए । अहिले वरिष्ठ उपसभापति बनेका शर्मालाई पनि सभापतिकै चाहनामा प्रतिष्ठानको नेतृत्व दिने व्यवस्था विधानमा गरिएको नेताहरू बताउँछन् ।