एमालेसँग तत्काल पार्टी एकता सम्भव छैन : प्रचण्ड

एमालेसँग तत्काल पार्टी एकता सम्भव छैन : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेकपा (एमाले) सँग तत्काल पार्टी एकताको सम्भावना नरहेको बताएका छन् । तर, राष्ट्रिय मुद्दाहरूमा सहकार्य हुनसक्ने उनले बताए ।

पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार आयोजित ‘पार्टी जागरण अभियान’ शुभारम्भ कार्यक्रममा पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले एमाले र नेकपाको चरित्र नै फरक रहेको दाबी गरे । "राष्ट्रिय स्वाधीनता, लोकतान्त्रिक अधिकार र देशको हितका लागि आवश्यक परे जोसँग पनि सहकार्य गर्न तयार छौँ । तर, यसको अर्थ एमालेसँग पार्टी एकता हुन्छ भन्ने होइन," प्रचण्डले भने ।

जनतामा माओवादी अस्तित्वबारे भ्रम फैलाउन खोजिएको प्रचण्डको भनाइ छ । तत्कालीन नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहित २६ वटा साना–ठूला कम्युनिस्ट घटकहरू एकीकृत भई वर्तमान नेपाली कम्युनिस्ट पार्टी बनेको उल्लेख गर्दै उनले विचार र भावना यसैभित्र समाहित रहेको जिकिर गरे । शान्ति प्रक्रियायता पार्टीका नामहरू बदलिए पनि मूल राजनीतिक कार्यदिशा र जनपक्षीय एजेन्डा नबदलिएको उनको भनाइ छ ।

सुशासन, सामाजिक न्याय र समृद्धिको अभियान चलाइरहेकै बेला संसद्का दुई ठूला दल मिलेर आफूलाई सरकारबाट हटाएको उनको दाबी छ । "नेपाली कांग्रेस र एमालेको गठबन्धनले देशमा दुर्घटना निम्त्याउन सक्छ भनेर हामीले पहिल्यै सचेत गराएका थियौँ," प्रचण्डले भने ।

राष्ट्रिय स्वाधीनता र लोकतान्त्रिक अधिकार रक्षाका निम्ति आवश्यकताअनुसार जो–कोहीसँग पनि संवाद र सहकार्य गर्न सकिने तर त्यसलाई पार्टी एकताका रूपमा बुझ्न नहुने उनको भनाइ छ ।