इजरायली आमनिर्वाचन: नेतान्याहुको राजनीतिक भविष्यको परीक्षा, आइसेनकोटसँग कडा प्रतिस्पर्धा

इजरायली आमनिर्वाचन: नेतान्याहुको राजनीतिक भविष्यको परीक्षा, आइसेनकोटसँग कडा प्रतिस्पर्धा

जेरुसेलम। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु मंगलबार हुने आमनिर्वाचनमा आफ्नो राजनीतिक भविष्य जोगाउन कडा संघर्ष गरिरहेका छन्। सन् २०२३ अक्टोबर ७ मा हमासले गरेको आक्रमण, गाजामा इजरायली सैन्य कारबाही, इरानसँगको युद्ध र बढ्दो अन्तर्राष्ट्रिय एक्लोपनका बिच मतदाताहरूले नेतान्याहुको नेतृत्वको मूल्याङ्कन गर्दैछन्।

इजरायलमा सबैभन्दा लामो समय (१९ वर्ष) सरकारको नेतृत्व गरिसकेका नेतान्याहुमाथि तीव्र राजनीतिक दबाब छ। यद्यपि, बलियो दक्षिणपन्थी राष्ट्रवादी राजनीति र विभाजित राजनीतिक प्रणालीका कारण उहाँले पुनः सरकार गठन गर्ने सम्भावना कायमै छ।

रोयटर्सका अनुसार नेतान्याहुको लिकुड पार्टी र उहाँका दक्षिणपन्थी सहयोगीहरूबिच पूर्वसेना प्रमुख गादी आइसेनकोटको नेतृत्वमा रहेको विपक्षी गठबन्धनसँग कडा प्रतिस्पर्धा हुने देखिएको छ। चुनावपूर्वका सर्वेक्षणहरूले कुनै पनि पक्षलाई स्पष्ट बहुमत नआउने देखाएका छन्।

नेतान्याहुले आफ्नो चुनावी अभियानको मुख्य आधार युद्धकालीन नेतृत्व र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको सम्बन्धलाई बनाएका छन्। ट्रम्पले नेतान्याहुलाई समर्थन गर्दै इरानविरुद्धको युद्धमा सहकार्य गरेका छन्। आइतबार नेतान्याहुले इरानको खतरा अन्त्य गर्न ट्रम्प पुनः कारबाही गर्न तयार रहेको र त्यसका लागि आफू नै प्रधानमन्त्रीमा कायम रहनुपर्ने दाबी गरेका थिए।

अर्कोतर्फ, आइसेनकोटले नेतान्याहुमाथि डर, झुट र धम्कीको राजनीति गरेको आरोप लगाउँदै अमेरिकी राष्ट्रपति ट्रम्पले जनताले चुनेका जुनसुकै नेतासँग पूर्ण सहकार्य गर्ने विश्वास व्यक्त गरेका छन्।

अक्टोबर ७ को घटना र जवाफदेहिता

सन् १९४८ मा इजरायल स्थापना भएयताकै सबैभन्दा उथलपुथलपूर्ण समयमा यो निर्वाचन हुँदैछ। २०२३ अक्टोबर ७ मा हमासको आक्रमणमा १,२०० जनाको मृत्यु र २५१ जना बन्धक बनाइएका थिए। त्यसपछि गाजामा इजरायलले गरेको आक्रमणमा ७४ हजार मानिसको मृत्यु भएको गाजाका स्वास्थ्य अधिकारीहरूले जनाएका छन्।

नेतान्याहुका विपक्षीहरूले अक्टोबर ७ को सुरक्षा विफलताको जिम्मेवारी माग्दै घटनाको स्वतन्त्र राष्ट्रिय छानबिन आयोग गठनको माग गरेका छन्। आइसेनकोटका समर्थक माली हाजाजले राष्ट्रिय छानबिन आयोगबाट मात्रै इजरायली समाजले पीडाबाट निकास पाउने बताएकी छन्। अर्की मतदाता लिसा टोर्टोरले नयाँ सरकारले इजरायल र विश्वभरका यहुदी समुदायको छविमा पुगेको क्षति सुधार गर्ने आशा व्यक्त गरेकी छन्।

तथापि, नेतान्याहुका समर्थकहरू उहाँलाई दोष दिन तयार छैनन्। १८ वर्षीय लिकुड समर्थक नोफ गाबेले नेतान्याहुलाई इजरायलका लागि उपयुक्त नेता भन्दै युद्धको व्यवस्थापन सम्भव भएसम्म राम्रोसँग गरेको दाबी गरेका छन्।

इरानसँगको युद्ध र चुनावी मुद्दा

अक्टोबर ७ पछि इजरायलले गाजाको ठूलो हिस्सा ध्वस्त पार्नुका साथै लेबनानमा इरान समर्थित हिजबुल्लाहमाथि गम्भीर क्षति पुर्‍याएको छ। सन् २०२५ मा इरानका आणविक केन्द्रहरूलाई लक्षित गरी १२ दिनसम्म हवाई अभियान चलाइएको थियो भने सन् २०२६ मा इजरायल र अमेरिकाले इरानविरुद्ध संयुक्त युद्ध सञ्चालन गरेका छन्।

विपक्षी नेता आइसेनकोटले आगामी सरकारले इरानलाई सैन्य आणविक क्षमता हासिल गर्नबाट रोक्नुपर्ने र त्यसका लागि सैन्य बल वा अमेरिकाको समर्थनमा कूटनीतिक समाधान खोज्न सकिने बताएका छन्।

सरकार गठनको कठिन समीकरण

इजरायलको १२० सदस्यीय संसदमा कुनै पनि दलले स्पष्ट बहुमत पाउने सम्भावना नरहेकाले सरकार गठन जटिल हुनेछ। नेतान्याहुलाई अति दक्षिणपन्थी नेताहरू इतामार बेन–गभिर र बेजालेल स्मोट्रिचको सहयोग आवश्यक पर्न सक्छ।

प्यालेस्टिनीहरूविरुद्ध हिंसा भड्काएको आरोपमा केही पश्चिमी देशहरूले बेन-गभिर र स्मोट्रिचमाथि प्रतिबन्ध लगाएका छन्। आइसेनकोटले दुई राज्य समाधान अस्वीकार गरे पनि वेस्ट बैंकमा यहुदी बस्तीका बासिन्दाबाट प्यालेस्टिनीहरूमाथि भइरहेको हिंसाको आलोचना गर्दै यी दक्षिणपन्थी नेताहरूसँग सहकार्य नगर्ने स्पष्ट पारेका छन्।

यसका साथै, नेतान्याहुविरुद्ध भ्रष्टाचारका मुद्दाहरूसमेत चलिरहेका छन्। इजरायलको अरब अल्पसंख्यक समुदाय (प्यालेस्टिनी मूलका नागरिक) को सहभागिताले पनि चुनावी परिणाममा प्रभाव पार्न सक्छ। आइसेनकोटले अरब दलहरूसँग औपचारिक गठबन्धन नगर्ने बताए पनि उनीहरूले नेतान्याहुलाई रोक्न आइसेनकोटको अल्पमत सरकारलाई बाहिरबाट समर्थन गर्न सक्ने विश्लेषकहरूको भनाइ छ।

सालोम हार्टम्यान इन्स्टिच्युटका राजनीतिक विश्लेषक अमोत्स आसाएलका अनुसार दुवै पक्षले सामान्य बहुमत मात्रै पाउने सम्भावना छ। यदि कसैले पनि सरकार गठन गर्न नसकेमा अर्को वर्ष पुनः निर्वाचन नहुँदासम्म नेतान्याहु कामचलाउ प्रधानमन्त्रीका रूपमा कायम रहन सक्छन्। इजरायलमा मंगलबार बिहान ७ बजेदेखि राति १० बजेसम्म मतदान हुँदैछ।