लोकतन्त्रको रक्षाका लागि आन्दोलनको विकल्प छैन: अध्यक्ष ओली

लोकतन्त्रको रक्षाका लागि आन्दोलनको विकल्प छैन: अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रको रक्षाका लागि आन्दोलनको विकल्प नरहेको बताएका छन्।

बुधबार पार्टी कार्यालय च्यासलमा मनोनीत केन्द्रीय कमिटी सदस्यहरू मोहम्मद इस्तियाक राई, डा. पुष्पा केसी भण्डारी र इन्दु कडरिया विष्टलाई शपथ ग्रहण गराउँदै अध्यक्ष ओलीले आन्दोलनका लागि मानसिक रूपमा तयार रहन नेता तथा कार्यकर्तालाई आग्रह गरे। उनले पार्टीलाई बलियो बनाउन, एकताबद्ध राख्न र प्रतिगमनलाई पराजित गर्न आन्दोलनको तयारी गर्नुपर्ने बताए। कठिन राजनीतिक परिस्थितिमा पनि सत्य, न्याय र देशको पक्षमा उभिएर आन्दोलनात्मक तथा अनुशासित ढङ्गले अगाडि बढ्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो।

त्यस्तै, अध्यक्ष ओलीले सरकारले देशमा आतंक फैलाउने र विनाबर्दीका प्रहरी प्रयोग गरी गिरफ्तारी गर्ने जस्ता अराजक काम गरिरहेको आरोप लगाए। देशी–विदेशी सबै शक्तिहरू एकजुट भएर सिध्याउन खोज्दा पनि एमाले मजबुत हैसियत र लोकप्रिय मतका साथ उभिएको उनको जिकिर छ। गत फागुनमा सम्पन्न भएको प्रतिनिधि सभाको निर्वाचन पारदर्शी नभएको र त्यो प्रतिगमनको दोस्रो शृङ्खला भएको ओलीले टिप्पणी गरे।

पार्टीभित्र देखिने विकृत प्रवृत्ति, अराजकता र अनुशासनहीनता सह्य नहुने उल्लेख गर्दै अध्यक्ष ओलीले यसको अन्त्य हुनुपर्ने बताए। आफ्नै पार्टी, नेतृत्व वा नीतिको विरुद्धमा सार्वजनिक रूपमा बोल्नु संस्थागत नियमविपरीत हुने ओलीको भनाइ छ।