रास्वपा महामन्त्री विपिन आचार्यको नेतृत्वमा २० सदस्यीय टोली कात्तिक २९ मा चीन जाने

रास्वपा महामन्त्री विपिन आचार्यको नेतृत्वमा २० सदस्यीय टोली कात्तिक २९ मा चीन जाने

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिन कुमार आचार्यको नेतृत्वमा २० सदस्यीय टोली आगामी कात्तिक २९ गते चीन भ्रमणमा जाने भएको छ। चिनियाँ कम्युनिस्ट पार्टीको औपचारिक निमन्त्रणामा रास्वपाका सांसदहरूसहितको टोली १० दिने भ्रमणका लागि चीन प्रस्थान गर्न लागेको हो।

भ्रमण टोलीमा सहभागी हुने सदस्यहरूको अन्तिम नामावली अझै टुङ्गो लागिसकेको छैन। रास्वपाका एक सांसदका अनुसार भाइटिकाको चार दिनपछि निस्कने यो भ्रमणका लागि महामन्त्री आचार्यले इच्छुक सांसदहरूसँग नाम माग गरिरहेका छन्।

हालसम्म महामन्त्री विपिन कुमार आचार्यसहित लिमा अधिकारी, हरि ढकाल र समीक्षा बास्कोटाको सहभागिता निश्चित भइसकेको छ भने बाँकी सदस्यहरूको चयन प्रक्रिया जारी छ। भ्रमण टोलीका सबै सदस्यहरूको नाम टुङ्गो लागेपछि पार्टीले औपचारिक रूपमा नामावली सार्वजनिक गर्ने जनाएको छ।

यद्यपि, महामन्त्री आचार्य नेतृत्वको यस भ्रमणका मुख्य एजेन्डाहरू भने अहिलेसम्म खुलाइएको छैन। यसअघि रास्वपाका सभापति रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय टोली चीन जाने तयारी भए पनि अन्तिम समयमा उक्त भ्रमण स्थगित भएको थियो।