‘मिचिएको भूमि फिर्ता माग्नु भारतविरोधी हुनु होइन’: राजन दाहाल

‘मिचिएको भूमि फिर्ता माग्नु भारतविरोधी हुनु होइन’: राजन दाहाल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका नेता राजन दाहालले लिपुलेक, लिम्पियाधुरा, कालापानी र सुस्तासहितका सीमा अतिक्रमणको विषय उठाउँदैमा कसैलाई भारतविरोधी भन्न नमिल्ने बताएका छन्।

अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत भ्रमणका क्रममा दिएको अभिव्यक्ति र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूको भू–राजनीतिक अडानप्रति कडा आपत्ति जनाउँदै उनले नेपालको सार्वभौमसत्ता र सीमा सुरक्षाका विषयमा गम्भीर प्रश्न उठाएका हुन्।

रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता दाहालले नेपाल र भारतबीच रोटीबेटी तथा सांस्कृतिक सम्बन्ध प्रगाढ हुनुपर्नेमा दुईमत नरहेको बताए। “आफ्नो भू–भाग फिर्ता माग्नु र मिचिएका सीमाबारे बोल्नु कसरी भारतविरोधी हुनु हो? भारतमा पुगेर अर्थमन्त्री स्वर्णिम वाग्लेले दिएको अभिव्यक्ति अत्यन्तै खेदजनक छ,” दाहालले भने।

रास्वपाका शीर्ष नेतृत्वकर्ताहरूमाथि गम्भीर आरोप लगाउँदै दाहालले रास्वपा सभापति रवि लामिछानेले दिल्ली भ्रमणका क्रममा पुराना विवादित विषय नउठाउने बताएको, बालेन शाहले सदनमा ‘नेपालले पनि भारतको जमिन मिचेको छ’ भन्ने अभिव्यक्ति दिएको र अर्थमन्त्री वाग्लेले ‘भारतको विरोध गरेर राष्ट्रवादी बन्ने युग सकियो’ भनी दिएको बयान एउटै शृङ्खलाको कडी भएको दाबी गरे। हालै सार्वजनिक भएको ‘ग्रे जोन’ रिपोर्टले उनीहरू परिचालित रहेको पुष्टि गरेको आरोप लगाउँदै उनले बालेन शाहलाई युक्रेनका जेलेन्स्कीको नयाँ अवतारको संज्ञा दिए।

सीमा र राष्ट्रियताको मुद्दा संकटमा परेको भन्दै फागुन २१ को चुनावपछि कम्युनिष्ट जनमत पुनर्जागरण गर्न पार्टीले दुई महिने ‘राष्ट्रिय जागरण अभियान’ सुरु गरेको जानकारी उनले दिए।

साक्षात्कारका क्रममा नेता दाहालले सरकारको आर्थिक तथा आन्तरिक नीतिको पनि तीव्र आलोचना गरे। भोटेकोशी बाढीपीडितको उद्धार, राहत तथा बूढीगण्डकी पीडितका लागि सरकारको उपस्थिति नदेखिएको र प्रधानमन्त्री राहत कोषको रकम फजुल खर्च गरिएको उनको आरोप थियो। शिक्षा, स्वास्थ्य र बिजुली जस्ता अत्यावश्यक क्षेत्रमा भ्याट लगाएर सरकारले ‘गरिबमारा बजेट’ ल्याएको भन्दै उनले विगत ३५ वर्षमा विकास नै भएन भन्ने भ्रामक भाष्य खडा गर्न खोजिएको टिप्पणी गरे।

बहुराष्ट्रिय कम्पनीहरूलाई लखेट्ने र व्यवसायीहरूलाई आतंकित बनाउने काम भइरहेको आरोप लगाउँदै दाहालले दुई महिने जनजागरण अभियानलगत्तै सरकारका स्वेच्छाचारी कदमविरुद्ध सडक आन्दोलनमा उत्रने चेतावनीसमेत दिए।