ममता काफ्ले प्रकरण: बेडरुममै पत्नी मृत फेला परेकाले शव टुक्रा पारेको नरेशको दाबी

ममता काफ्ले प्रकरण: बेडरुममै पत्नी मृत फेला परेकाले शव टुक्रा पारेको नरेशको दाबी

काठमाडाैं। अमेरिकाको भर्जिनियामा चर्चामा रहेको ममता काफ्ले भट्ट हत्या मुद्दामा उनका पति नरेश भट्टले अदालतसमक्ष बयान फेर्दै पत्नीको शव टुक्राटुक्रा पारेको स्वीकार गरेका छन्।

भर्जिनिया राज्यमा जारी सुनुवाइका क्रममा नरेशले सन् २०२४ जुलाई ३० को बिहान आफ्नी पत्नी ममतालाई बेडरुमको भुइँमा मृत अवस्थामा भेटेपछि शव टुक्राटुक्रा पारेको बयान दिएका हुन्। अदालतमा पेस भएको बयानअनुसार घटनाको दिन ममताको अनुहार र भुइँमा बान्ता देखिएको थियो। उक्त बान्तामा रगत, खानाका कण, औषधिका क्याप्सुल तथा कृषि क्षेत्रमा कीरा मार्न प्रयोग हुने शक्तिशाली रसायन 'सेल्फोस' (एल्युमिनियम फोस्फाइड) को संकेत रहेको उनले उल्लेख गरेका छन्।

पत्नीलाई मृत अवस्थामा भेटेपछि सुरुमा उनलाई उठाएर सीपीआर लगायतका बचाउने प्रयास गरे पनि सफल नभएको नरेशले दाबी गरेका छन्। त्यसपछि आफूले शवको खुट्टा र शरीरका अन्य भाग छुट्याउने प्रयास गरेको र शारीरिक रूपमा थकित भएका कारण पहिलो दिन नै सबै काम गर्न नसकेको उनले बताएका छन्। शवलाई बाथरुममा सारेपछि उनले बेडरुमको ढोकामा बच्चाको सामान राखेर बन्द गरेका थिए। सोही राति उनी शिशु छोरीको हेरचाहमा व्यस्त रहेका र आफू सुत्न समेत नसकेको बयानमा उल्लेख छ।

नरेशमाथि पत्नीको हत्या गरेको, शव लुकाएको र मृत शरीरको अपमान गरेको गम्भीर आरोप लागेको छ। तर, प्रहरीले यसअघि नै व्यापक खोजबिन गरे पनि ममताको शव अहिलेसम्म फेला पर्न सकेको छैन।

घटनाको पृष्ठभूमि हेर्दा, भर्जिनियाको प्रिन्स विलियम मेडिकल सेन्टरमा नर्सका रूपमा कार्यरत ममता काफ्ले काममा उपस्थित न भएपछि रहस्य खुल्न थालेको थियो। ममता आफ्नी सानी शिशु छोरीलाई छाडेर कहिल्यै कतै नजाने परिवार र इष्टमित्रले बताएका थिए। घटनालाई सामसुम पार्न नरेशले सन् २०२४ अगस्ट ५ मा पत्नी हराएको भन्दै प्रहरीमा खुद उजुरी दिएका थिए र ममताले सम्बन्धविच्छेदको कुरा गरेको दाबी गरेका थिए।

तर, अनुसन्धानका क्रममा प्रहरीले उनीहरू बस्ने घरको बेडरुम र बाथरुममा रगतका दागहरू फेला पारेको थियो। यसका साथै, घरबाटै कपालका टुक्रा टाँसिएको एउटा पावर स (करत) समेत बरामद गरिएको थियो। प्रमाणहरू फेला परेपछि प्रहरीले सन् २०२४ अगस्ट २२ मा नरेशलाई पक्राउ गरेको थियो। उनी त्यसयता निरन्तर प्रहरी हिरासतमा छन् र अदालतमा यससम्बन्धी कानुनी प्रक्रिया जारी छ।