काठमाडौं । पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्धको भ्रष्टाचार मुद्दामा चीनको एक्जिम बैंकसँग ऋण लिँदा गरिएका कागजको विवरण झिकाउन विशेष अदालतले आदेश दिएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भ्रष्टाचार मुद्दामा निर्माण कम्पनी र ऋण भुक्तानीको विवरण माग गरिएहो हो ।
शुक्रबार अदालतका अध्यक्ष वासुदेव आचार्य, सदस्यद्वय डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको संयुक्त इजलासले चीनको निर्माण कम्पनी चाइना सीएएमसीले भुक्तानीका लागि दाबी गरेका बिल–भरपाई, भुक्तानी भएको रकम र भुक्तानी हुन बाँकी रकमको विवरण मागेको छ ।
सरकारले चिनियाँ एक्जिम बैंकबाट लिएको ऋणको भुक्तानी प्रक्रिया र किस्तागत भुक्तानीको विवरण सार्वजनिक ऋण व्यवस्थापन कार्यालयबाट झिकाउन भनिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भ्रषचार भएको भन्दै मुद्दा दर्ता गरेको छ ।
निर्माण कम्पनीलाई गैरकानुनी रूपमा कर छुट दिएर राज्य कोषमा ३ अर्ब ६२ करोड ५ लाख २२ हजार १६० रुपैयाँ हानी पुर्याएको अख्तियारको दाबी छ । कार्की सो समयमा अर्थमन्त्री थिए, त्यसैले उनी यसका प्रतिवादी हुन् ।
