नेता–कार्यकर्तालाई उच्च राजनीतिक चरित्र देखाउन सभापति लामिछानेको निर्देशन

नेता–कार्यकर्तालाई उच्च राजनीतिक चरित्र देखाउन सभापति लामिछानेको निर्देशन

चितवन।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताहरूलाई जनताको अपेक्षाअनुरूप उच्च राजनीतिक चरित्र देखाउन कूटनीतिक तथा स्पष्ट निर्देशन दिए। रास्वपा चितवनद्वारा आयोजित विशेष सम्बोधन कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी सरकारको नेतृत्वमा पुगे पश्चात नेता तथा कार्यकर्ताहरूको आचरण र क्रियाकलापहरू थप उत्तरदायी हुनुपर्नेमा जोड दिए।

समाजले पार्टीका प्रत्येक गतिविधि र व्यवहारको सूक्ष्म मूल्याङ्कन गरिरहेको प्रस्ट पार्दै उहाँले आलोचना गर्ने समाजप्रति आक्रामक बन्नु कुनै पनि हालतमा सही राजनीतिक चरित्र हुन नसक्ने बताउनुभयो। समाजले औँल्याएका कमीकमजोरीहरूलाई सहर्ष स्वीकार गरी आफूलाई सुधार गर्दै अगाडि बढ्नुपर्ने उनको भनाइ थियो।

“ऐनाले आफ्नो अनुहार देखाएपछि ऐना देखाउनेतिर झम्टिने त्यो राजनीतिक चरित्र होइन,” उहाँले भन्नुभयो। जनताले पार्टीलाई १८२ सिटसहित सरकारको नेतृत्व सम्हाल्ने ठूलो अवसर सुम्पिएको भए तापनि त्यसलाई अहङ्कारको विषय बनाउन नहुने उनको चेतावनी थियो। पार्टीभित्र केन्द्रदेखि तृणमूल तहसम्म देखिएका त्रुटिहरूलाई सच्याउन निर्देशन दिँदै उनले प्रतिशोध वा बदलाको भावनाबाट प्रेरित भएर कुनै पनि कार्य नगर्न आग्रह गरे।

“हामी रास्वपाका हौँ भन्दै प्रशासन र प्रहरीलाई राजनीतिक दबाब दिने काम गर्‍यौँ भने त्यो चरित्रले हामीलाई धेरै पर लैजाँदैन,” उनले चेतावनीपूर्ण भाषामा भन्नुभयो, “हामीले सधैँ भुइँ टेक्नुपर्छ, भुइँ छोड्नुहुँदैन।” जनताले दिएको जनमत र अभिमतलाई उनीहरूप्रति नै अपमान हुने ढङ्गले प्रयोग गर्न नहुने बताउँदै उहाँले पार्टी ठूलो भयो भन्दैमा प्रहरी, प्रमुख जिल्ला अधिकारी लगायत राज्यका प्रशासनिक अङ्गहरू आफ्नो मुठीमा वा नियन्त्रणमा छन् भन्ने घमण्ड पाल्न नहुने स्पष्ट पार्नुभयो। साथै, पार्टीभित्र सुदृढ एकता कायम राख्न पनि उनले विशेष जोड दिए।

“हामी यही माटोका मान्छे हौँ। एक चुनाव जित्दैमा हामी विशेष प्राणी बनेका छैनौँ,” सभापति लामिछानेले भने। पार्टीभित्र कुनै किसिमको मतभेद वा आन्तरिक अन्तरसंघर्ष नरहेको दाबी गर्दै उनले सरकारले जनअपेक्षाअनुरूप काम गर्न सकोस् भन्ने पवित्र उद्देश्यले मात्र पार्टीले आवश्यक रचनात्मक सुझावहरू दिने गरेको स्पष्ट पारे।

सरकारको कामकारबाहीमा सुधार ल्याउन सुझाव दिनuलाई विवाद वा तिक्तताका रूपमा बुझ्न नहुने उहाँको तर्क थियो। पार्टीले सरकारका सकारात्मक काममा कुनै पनि प्रकारको बाधा अवरोध सिर्जना नगर्ने बताउँदै लोकतन्त्रका आधारभूत स्तम्भहरूलाई कमजोर पार्ने कुनै पनि गतिविधिमा सरकार संलग्न नहुने उनले प्रस्ट पारे।

सभापति लामिछानेले अदालत, प्रहरी र प्रेस लगायतका संवेदनशील सार्वजनिक संस्थाहरूको गरिमामा आँच आउने गरी अनावश्यक टिप्पणी नगर्न पार्टी पंक्तिलाई कूटनीतिक रूपमा सजग गराए। यस्ता सार्वजनिक संस्थाहरूलाई कमजोर बनाउँदा समग्र देश र लोकतान्त्रिक व्यवस्था नै संकटमा पर्ने उहाँको ठहर थियो।

देशमा सुशासनको प्रत्याभूति गराउन भ्रष्टाचार नियन्त्रण अपरिहार्य रहेको उल्लेख गर्दै उहाँले त्यसका लागि विधिको शासनको पूर्ण पालना गर्दै निष्पक्ष ढङ्गले अनुसन्धान र कारबाही हुनुपर्नेमा जोड दिए।

भ्रष्टाचार नियन्त्रणको मुद्दा विगतमा रास्वपाले नै सबैभन्दा जोडदार रूपमा उठाउँदै आएको स्मरण गराउँदै उनले कुनै पनि किसिमको आधिकारिक अनुसन्धान नगरिकन कसैलाई पनि पूर्वाग्रहका आधारमा दोषी करार गर्ने वा अनाहकमा पक्राउ गर्ने प्रवृत्ति किमार्थ उचित नहुने धारणा व्यक्त गरे।