रवि र बालेनबीच असमझदारी बढ्नु देश र लोकतन्त्रका लागि शुभसंकेत होइन : बाबुराम भट्टराई

रवि र बालेनबीच असमझदारी बढ्नु देश र लोकतन्त्रका लागि शुभसंकेत होइन : बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहबीच असमझदारी बढ्दै गएको कुरा सार्वजनिक हुनु लोकतन्त्रकोनिम्ति शुभसंकेत नभएको टिप्पणी गरेका छन्।

पछिल्लो समय रास्वपा र सरकारबीच विवाद बढेको विषय सार्वजनिक भइरहेको बेलामा पूर्वप्रधानमन्त्री भट्टराईले यस्तो बताएका हुन्। रवि र बालेनको फोटो फेसबुकमा राख्दै उनले लेखेका छन्, ‘नवोदित सत्ताधारी दलभित्र सरकार र पार्टीबीचको असमझदारी बढ्दै गएको कुरा सार्वजनिक रूपमा पोखिन थाल्नु देश र लोकतन्त्रकोनिम्ति शुभसंकेत होइन।’

उनले २००७ सालपछि कांग्रेसमा बिपी र मातृका समूह, पुनः कांग्रेसमा २०४७ पछि ७४ र ३६ (सांसद) समूह र २०५८ पछि गिरीजा र देउवा समूह, २०५२ पछि एमालेमा महाकाली सन्धी पक्षधर र विरोधी समूह, २०६४ पछि माओवादीमा संविधान बनाउने र जनविद्रोह गर्ने समूहबीचको अन्तर्संघर्ष र फुटले देश, लोकतन्त्र र जनतालाई भएको नोक्सानी स्मरण गराएका छन्।

उनले थपेका छन्, ‘भनाइ पनि छ, इतिहास दोहोरिन्छ किनकि मान्छेले आफ्ना गल्ती दोहोर्‍याउँछन्। जेनजी विद्रोहको जगमा बनेको युवा बाहुल्य पार्टी र सरकारले इतिहासका गल्ती नदोहोराओस्। बरु इतिहासबाट पाठ सिकेर नयाँ इतिहास निर्माण गरोस्।’