काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भई जेल सजाय भोगिरहेका पूर्वउपप्रधानमन्त्री तथा तत्कालीन नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझी कैद छुट पाएर बिहीबार बिहान डिल्लीबजार कारागारबाट थुनामुक्त भएका छन्।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा संलग्न रहेको ठहरसहित कारागारमा बन्दी जीवन बिताइरहेका उनी उमेरहदको कानुनी सुविधा प्राप्त गर्दै रिहा भएका हुन्।
काठमाडौं जिल्ला अदालतले रायमाझीलाई विभिन्न कसुरअन्तर्गत सजाय सुनाएको थियो। अदालतको फैसलाअनुसार उनलाई ठगीमा दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिबाना, संगठित अपराधमा तीन वर्ष कैद र ३० हजार रुपैयाँ जरिबाना, राज्यविरूद्धको कसुरमा एक वर्ष ६ महिना कैद र १५ हजार रुपैयाँ जरिबाना तथा एकीकृत कसुरतर्फ चार वर्ष कैद र ४० हजार रुपैयाँ जरिबाना ठहर गरिएको थियो।
तर, ६५ वर्ष उमेर पूरा भएका रायमाझीले जेष्ठ नागरिकसम्बन्धी कानुनी प्रावधानअनुसार उमेरहदको सुविधा पाइ कैद सजायमा छुट प्राप्त गरेका छन्। कारागारबाट मुक्त भएलगत्तै उनलाई परिवार तथा शुभेच्छुकहरूले घरमा टीका तथा माला लगाएर भव्य रूपमा स्वागत गरेका छन्।
रायमाझी २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा अर्घाखाँचीबाट निर्वाचित सांसदसमेत थिए। पक्राउ पुर्जी जारी भएपछि केही समय फरार रहेका उनलाई प्रहरीले २०८० वैशाख ३१ गते काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ गरेको थियो र सोही मितिदेखि उनी निरन्तर थुनामा थिए।
यस प्रकरणमा २०८३ असार ३० गते जिल्ला अदालत काठमाडौंले रायमाझीलाई ठगी, राज्यविरूद्धको कसुर तथा संगठित अपराधमा दोषी ठहर गर्दै चार वर्ष कैद सजायको फैसला सुनाएको थियो।
अदालतको फैसलाअनुसार रायमाझीलाई ठगी कसुरमा दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिबाना, संगठित अपराधमा तीन वर्ष कैद र ३० हजार रुपैयाँ जरिबाना तथा राज्यविरूद्धको कसुरमा एक वर्ष ६ महिना कैद र १५ हजार रुपैयाँ जरिबाना तोकिएको थियो।
यस्तै, एकीकृत कसुरतर्फ उनलाई चार वर्ष कैद र ४० हजार रुपैयाँ जरिबाना ठहर भएको थियो। उमेर हदका कारण कैद सजायमा छुट पाए पनि अदालतले तोकेको सबै कसुरबापतको जरिबाना रकम भने उनले अनिवार्य रूपमा भुक्तान गर्नुपर्नेछ।