काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले भाइटीकाको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।
यमपञ्चकको अन्तिम दिन बुधबार भाइटीकाका अवसरमा प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश जारी गर्दै आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीप्रति मङ्गलमय शुभकामना व्यक्त गरेका हुन् ।
उनले पौराणिक कथनअनुसार कार्तिक शुक्ल द्वितीयाका दिन यमुनाको निमन्त्रणामा यमराज उहाँको निवासमा पुगेको र यमुनाले विधिपूर्वक पूजा तथा टीका लगाएर दाजुको सत्कार गरेको प्रसङ्ग स्मरण गरेका छन् ।
बहिनीको प्रेम, निष्ठा र आतिथ्यबाट प्रसन्न यमराजले यस दिन दिदीबहिनीबाट टीका तथा पूजा ग्रहण गर्ने दाजुभाइलाई मृत्युको भयबाट मुक्ति मिल्नुका साथै दीर्घायु, सुस्वास्थ्य र सौभाग्य प्राप्त हुने वरदान दिएको धार्मिक विश्वास रहेको उनले उल्लेख गरेका छन् ।
प्रधानमन्त्री शाहले भाइटीकाका दिन दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुस्वास्थ्य र प्रगतिको कामना गर्दै दूबो, मखमली तथा सयपत्रीको माला लगाइदिने, ओखर फुटाउने, तेलको घेरा लगाउने र सप्तरङ्गी टीका लगाइदिने परम्पराको चर्चा गरेका छन् ।
त्यसैगरी, विभिन्न मिष्ठान्न परिकार खुवाउने तथा दाजुभाइले पनि दिदीबहिनीलाई दक्षिणा र उपहार प्रदान गरी आशीर्वाद लिने चलनले आपसी सम्बन्धलाई थप आत्मीय बनाउने उनको सन्देशमा उल्लेख छ ।
भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास, आपसी सम्मान र आत्मीयतालाई अझ प्रगाढ बनाउने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री शाहले यस पर्वले सबैमा सकारात्मक भावना र सद्भाव अभिवृद्धि गरोस् भन्ने कामना गरेका छन् ।