काठमाडौं। गृहमन्त्री सुधन गुरुङले चाडपर्वका नाममा हुने अश्लील तथा अमर्यादित गतिविधिहरूलाई नियन्त्रण गर्न सरकार पूर्णरूपमा प्रतिबद्ध रहेको स्पष्ट पारेका छन्।
मंगलबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले मौलिक परम्परा र सांस्कृतिक मर्यादामा आँच पुग्ने गरी देउसी–भैलो खेल्ने क्रममा देखिएका विकृत गतिविधिहरूलाई कानुनबमोजिम कडाइका साथ नियन्त्रण गर्ने चेतावनी दिएका हुन्।
गृहमन्त्री गुरुङले यस्ता अवाञ्छित गतिविधिहरूप्रति गृह मन्त्रालय गम्भीर रहेको उल्लेख गर्नुहुँदै सांस्कृतिक पर्वहरूको आडमा अश्लीलता र अमर्यादित व्यवहार प्रदर्शन गर्ने कार्य किमार्थ स्वीकार्य नहुने दोहोर्याएका छन्।
साथै, उहाँले देउसी-भैलोलगायत चाडपर्वका सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गर्ने क्रममा कतै पनि अश्लील वा अमर्यादित गतिविधि भएको पाइएमा तत्काल नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा सम्पर्क गरी खबर गर्न सर्वसाधारणमा विशेष आग्रह समेत गरेका छन्। सरकारले चाडपर्वको मौलिकता, सांस्कृतिक पहिचान र सामाजिक सद्भाव तथा मर्यादा कायम राख्दै कानुन विपरीतका त्यस्ता गतिविधिहरूलाई हरसभंव रोक्ने जनाएको छ।