काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सलाई पराजित गर्दै पोखरा एभेन्जर्सले पहिलो जित हात पारेको छ।
आज त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पोखराले कर्णालीलाई १२८ रनको विसाल लक्ष्य दिएको थियो।
कर्णालीले १८.३ ओभरमा १५४ रन मात्र जोड्न सक्यो। यससँगै कर्णाली पोखरासँग ६३ रनको विशाल अन्तरले पराजित भएको छ।
कर्णालीका लागि पवन सर्राफले सर्वाधिक ३२ रन बनाएका थिए। उनले ३० बलमा १ चौका र २ छक्का प्रहार गरे। ओपनर अरिफुल इस्लामले १३ बलमा २ चौका र २ छक्कासहित २४ रन जोडे। दीपक डुम्रेले आक्रामक ब्याटिङ गर्दै ७ बलमा १ चौका र ३ छक्काको मद्दतमा २२ रन बनाए।
कप्तान सोमपाल कामीले २१ तथा सूर्य तामाङले १३ रन बनाए। सोमपाल १५औँ ओभरको अन्तिम बलमा बललाई दुईपटक प्रहार गरेपछि ‘अब्स्ट्रक्टिङ द फिल्ड’ का कारण आउट भए।
कर्णालीका अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन्। ओपनर जिशान आलम शून्यमा आउट हुँदा मार्क वाटले ८, डेभिड मिलरले ७, गुल्सन झाले २ र नन्दन यादवले ३ रन बनाए । युवराज खत्री १ रनमा अविजित रहे।
पोखराका लागि धनञ्जय लक्ष्मणले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिए । कुशल भुर्तेलले २ तथा विपिन खत्रीले १ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पोखराका लागि युवराज सिंह सम्राले यस सिजनकै पहिलो शतक प्रहार गरे । उनले ४८ बलमा १० चौका र ६ छक्काको मद्दतमा १०२ रन बनाए। ४५ बलमै सय रन पूरा गरेका सम्रा एनपीएलको यस सिजन शतक बनाउने पहिलो खेलाडी बने।
क्यानडाका ओपनर सम्राले एनपीएलमा आफ्नो दोस्रो खेलमै शतक प्रहार गरेका हुन्। उनी पोखराका लागि एनपीएलमा शतक बनाउने तेस्रो तथा प्रतियोगिताकै चौथो खेलाडी बनेका छन्। यसअघि पोखराका आन्द्रे गौसले पहिलो संस्करणमा लुम्बिनी लायन्सविरुद्ध तथा दोस्रो संस्करणमा एडम रोसिङ्टनले कर्णाली याक्सविरुद्ध शतक प्रहार गरेका थिए।
पोखराका कुशल भुर्तेलले पनि उत्कृष्ट ब्याटिङ गरे । उनले ३९ बलमा ७ छक्काको मद्दतमा ६२ रन जोडे। सम्रा र भुर्तेलले दोस्रो विकेटका लागि १३६ रनको शतकीय साझेदारी गरे। यो साझेदारी यस सिजनको अहिलेसम्मकै उच्च साझेदारी हो।
ओपनर महेदी हसन १६ बलमा ५ रन बनाएर आउट भएका थिए। यही खेलबाट एनपीएलमा डेब्यु गरेका सन्नी विक ३ रनमा अविजित रहे ।
कर्णालीका लागि कप्तान सोमपाल कामीले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए भने मार्क वाटले १ विकेट हात पारे।