काठमाडौँ । तिहारको अवधिमा काठमाडौं उपत्यकामा भएको सवारी दुर्घटनामा ५ जनाले ज्यान गुमाएका छन्। कात्तिक २१ गतेदेखि २५ गते भाइटीकासम्मको अवधिमा ७८ वटा सवारी दुर्घटना भएको र दुर्घटनामा ५ जनाको मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको हो।
त्यस्तै, सोहि अवधिमा चेकिङको क्रममा ५९५ जनालाई मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको अवस्थामा नियन्त्रणमा लिएर कारबाही र लागुपदार्थ सेवन गरेर सवारी चलाउने १८ जना चालकलाई पनि कारबाहीको दायरामा ल्याइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिए। अन्य कारबाहीसमेत जोड्दा तीव्र गतिमा वा लापरवाही गरी सवारी चलाउने समेत कुल २ हजार २ सय ११ जना सवारी चालकलाई कारबाही गरिएको उनले बताए। प्रवक्ता सुवेदीले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज बनाउन मानवीय जनशक्तिका साथै प्रविधिबाट विशेष निगरानी, अनुगमन र कारबाही गर्ने प्रक्रियालाई कढाई गरिएको उल्लेख गरे।
थापाथलीदेखि बानेश्वर क्षेत्रको सडकमा फेसलेस ट्राफिक व्यवस्थापनका लागि प्रविधिमार्फत निगरानी गर्ने प्रक्रिया सुरु गरिएको उनले जानकारी दिए। उनले सडकमा सवारी साधन र दुर्घटना बढ्दै गएको अवस्थामा मानवीय जनशक्तिले मात्र नियन्त्रण गर्न कठिन हुने हुनाले प्रविधिमा आधारित ट्राफिक व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेर पूर्वाधारका कामहरू भइरहेको उल्लेख गरे।