काठमाडौँ । मकवानपुरको चिसापानी गढीमा हिजो (बिहीबार) बिहानै हायस गाडी दुर्घटना हुँदा १४ जनाले ज्यान गुमाए। दुर्घटनामा सर्लाहीको चक्रघट्टा गाउँपालिका –४, सुन्दरपुर गाउँका १३ जना यात्रु र चालक कविलासी नगरपालिकाका एकजनाको मृत्यु भएको छ।
नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार सुन्दरपुर गाउँका अवधेश यादवकी आठ महिनाकी गर्भवती श्रीमती २८ वर्षीया पुनम यादव, छोरीहरू ५ वर्षकी दीपिका, ७ वर्षकी दीक्षा र १० वर्षकी अनुकुमारी, भाइहरू २६ वर्षीय विकेश यादव र १७ वर्षीय सुधेश यादवको दुर्घटनामा मृत्यु भएको छ।
त्यसैगरी मृतकहरूमा हायस चालक सर्लाहीका कविलासी नगरपालिका –८, अगर्बा बस्ने ३० वर्षीय रवीशङ्करकुमार मण्डल, यात्रुहरू सुन्दरपुर गाउँका ३५ वर्षीय गुड्डु यादव, ३२ वर्षीया गायत्री यादव, २६ वर्षीय रामदुलार यादव, २४ वर्षीय सुबोध यादव, ३५ वर्षीय राकेश यादव र २८ वर्षीय छोटु राय भन्ने रामप्रसाद राय यादव रहेका छन्।
दुर्घटनामा एकै गाउँका १३ जनाको मृत्यु भएपछि सुन्दरपुर गाउँ बिहीबारदेखि नै शोकमग्न बनेको छ। छठका कारण अन्यत्र उल्लास छाउँदा सुन्दरपुर गाउँमा भने रुवावासी छ।
यी यात्रु छठ मनाउन मधेश प्रदेश ०३ –००१ ज ०८८० नम्बरको इभी हायस चढेर गइरहेको बेला बिहीबार बिहान पौने ६ बजेतिर काठमाडौँ–कुलेखानी–भीमफेदी सडक अन्तर्गत चिसापानीगढी आइपुग्दा दुर्घटनामा परेका हुन्। दुर्घटनामा परेको गाडी सडकबाट करिब ५०० मिटर तल अप्ठेरो भीरमा खसेको थियो। उक्त दुर्घटनाबाट ६ जना घाइते भए। उपचारपश्चात् ३ जना डिस्चार्ज भए भने अरूको उपचार भइरहेको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं डिएसपी माधवप्रसाद काफ्लेले चालक निदाएका कारण दुर्घटना भएको हुनसक्ने आशङ्का रहेको बताएका छन्। प्रहरीका अनुसार दुर्घटनामा परेको गाडी बुधबार राति मात्र सर्लाहीबाट यात्रु लिएर काठमाडौँ गएको थियो।
यात्रुलाई काठमाडौँमा ओराल्नासाथ गाडी पुनः सुन्दरपुरका यात्रु लिएर सर्लाहीतर्फ हिँडेको थियो। दुर्घटनापछि सर्लाहीको चक्रघट्टा गाउँपालिकामा शुक्रबार शोक बिदा दिइएको छ।
यसरी तीन दिन (कात्तिक २५ गतेदेखि आजसम्म)को समयमा नेपाल प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको दुर्घटना विवरणअनुसार सडक दुर्घटनाबाट सडकमै २७ जनाले अन्तिम सास फेरेका छन्। कात्तिक २५ गतेमात्रै विभिन्न प्रदेशमा सवारी दुर्घटना हुँदा ७ जनाले ज्यान गुमाए भने ३३८ जना घाइते भए।
हिजो (बिहीबार) कैलालीमा धनगढी उपमहानगरपालिका–१५ ज्योति आयल स्टोर नजिक मोटरसाइकल र स्कुटर एकआपसमा ठोक्किँदा एकजना स्कुटर चालकको मृत्यु भयो। प्रहरीका अनुसार २६ गते १९:०० बजेको समयमा धनगढीबाट फूलबारीतर्फ जाँदै गरेको से ४ प ४५८५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको सु.प.प्र. ०२००३ प ८१५५ नम्बरको स्कुटर एकआपसमा ठोक्किएका थिए।
उक्त दुर्घटनामा मोटरसाइकल चालकसहित ३ जना र स्कुटी चालकसहित २ जना गरी ५ जना घाइते भएका थिए। घाइतेहरूलाई उपचारका लागि निसर्ग अस्पताल धनगढी पठाइएकोमा स्कुटर चालक धनगढी उपमहानगरपालिका–५ तारानगर बस्ने ३५ वर्षीया सुशीला बमकाे उपचारकाा क्रममा मृत्यु भएको हो।
हिजो (बिहीबार) नै धनुषाको जनकपुरधाम उपमहानगरपालिका–८ स्थित पिडारी चोकमा टिपरको ठक्करबाट स्कुटी चालक नीतेश चौधरी घटनास्थलमै प्राण त्याग गरे।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार चौधरी सवार मधेश प्रदेश ०२–०१० प ४०६९ नम्बरको स्कुटीलाई बिहीबार पिडारी चोकस्थित पिडारी जाने बाटोमा मधेश प्रदेश ०३–००१ ख ७५०४ नम्बरको टिपरले उनलाई ठक्कर दिएको थियो।
बिहिबार नवलपरासी पूर्वमा ना ३६ प २४२८ नम्बरको मोटर साइकलले पैदलयात्री कमल गाहा (वर्ष ४८)लाई ठक्कर दिँदा उनको मृत्यु भयो। बिहीबार नै बाराको वसन्तपुरस्थित ना ३६ प १५३९ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठककर दिँदा बिआर ०५ एबी ७७५९ नम्बरको मोटरसाइकलमा सवार यात्रु ३० वर्षीय शिवपुजनी देवीको मृत्यु भयो।
सोही दिन सिरहा मुसहरनियाचोकमा मधेश प्रदेश ०१ ००५ प ६९६७ नम्बरको मोटरसाइकलले पैदलयात्री श्रीराम यादवलाई ठक्कर दिँदा मृत्यु भयो।
यसैगरी आज(शुक्रबार) चितवनमा कारको ठक्करबाट एक जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार भरतपुर महानगरपालिका –१६ फुर्तीचोकमा आज बिहान ९ बजे कार पैदलयात्री चितवन, भरतपुर महानगरपालिका–१५ बस्ने वर्ष ३० की पार्वती भुजेललाई ठक्कर दिँदा उनको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्।
फुर्तीचोकबाट नवीनचोकतर्फ जाँदै गरेको बा.प्र.०१-०३४ च ९२२१ नम्बरको ईभी कारले उनलाई ठक्कर दिएको थियो। उनलाई उपचारका लागि भरतपुर सरकारी अस्पताल पठाइएकोमा चिकित्सकले ०९:५४ बजे मृत घोषणा गरेका थिए।
कार र चालक जिल्ला चितवन, भरतपुर महानगरपालिका–१६ फुर्तीचोक बस्ने वर्ष ३३ का मनोज पौडेललाई नियन्त्रणमा लिई दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।