भीमफेदी दुर्घटना : मृतकका आफन्तले बुझ्न मानेनन् शव, क्षतिपूर्तिको माग राख्दै अस्पतालमा धर्ना

भीमफेदी दुर्घटना : मृतकका आफन्तले बुझ्न मानेनन् शव, क्षतिपूर्तिको माग राख्दै अस्पतालमा धर्ना

हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा बिहीबार भएको दुर्घटनाका मृतकका आफन्तले शव बुझ्न मानेका छैनन् । मृतकका परिवार र आफन्त अहिले हेटौंडा अस्पतालमा धर्नामा छन् । उनीहरूले क्षतिपूर्ति, रोजगारी र उपचारको व्यवस्थालगायत माग राख्दै शव बुझ्न मानेका छैनन् ।

हिजो बिहान काठमाडौंबाट सर्लाहीका लागि छुटेको विद्युतीय माइक्रो चिसापानीगढीमा सडकबाट ५ सय मिटर जति तल खसेको थियो । अहिलेसम्म १ जनाको शव मात्रै आफन्तले बुझेको र बाँकी १३ वटा अस्पतालमै प्रहरीले बताएको छ ।

उनीहरूले पीडित परिवारलाई जनही १० लाख रूपैयाँ क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, परिवारका सदस्यलाई रोजगारीको व्यवस्था गर्नुपर्ने तथा घाइतेको उपचार खर्च सरकारले व्यहोर्नुपर्ने माग राखेका छन् । मृतकका परिवार, सीडीओ, प्रहरी प्रमुख र जनप्रतिनिधिबीच छलफल भएपनि कुनै निष्कर्ष निस्किएको छैन ।

मकवानपुरका सीडीओ वसन्त अधिकारीले राज्यले उपलब्ध गराउने कानुन तथा नियमअनुसारको क्षतिपूर्ति दिन कुनै बाधा वा अवरोध नरहेको भनी आश्वस्त पारेका थिए । तर, संघीय सरकारबाट थप सम्बोधन हुनुपर्ने माग राखेपछि शव हस्तान्तरणको प्रक्रिया अघि बढ्न सकेको छैन ।

दुर्घटनामा ज्यान गुमाएका १४ जनाको शव हेटौंडा अस्पतालमा छ । घाइते ६ मध्ये ३ जनाको उपचार जारी छ भने बाँकी ३ जना सामान्य उपचारपछि घर फर्किएका छन् ।