काठमाडाैं। एआई चिप निर्माण गर्ने दिग्गज कम्पनी एनभिडियाका मुख्य कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङले विवादास्पद प्रेमसम्बन्धको खुलासापछि पदबाट अचानक राजीनामा दिएका छन्। सिलिकन भ्यालीदेखि क्यापिटल हिलसम्म हलचल मच्चाउने यो उनको अप्रत्याशित पतन हो।
अमेरिकी राजनीतिज्ञहरूले हुआङलाई उनको एउटा कथित सम्बन्ध चिनियाँ जासुससँग थियो वा थिएन भन्ने बारेमा स्पष्टीकरण दिन माग गर्दै वासिङ्टन डीसीमा एनभिडियामाथि छानबिन सुरु गरेका छन्।
एआई बूमका कारण विश्वको सबैभन्दा मूल्यवान कम्पनीमध्ये एक बनेको एनभिडियाले यो स्क्यान्डलले हेडलाइनहरू ओगटेसँगै पाँच दिनमै ५५० अर्ब डलर (करिब ४१५ अर्ब पाउन्ड) बजार मूल्य गुमाएको छ।
एनभिडियाकी अन्तरिम सीईओ कोलेट क्रेसले कम्पनीको भविष्यबारे छलफल गर्न आफ्नो कार्यकारी टोलीको आपतकालीन बैठक बोलाएकी छिन्।
उनको कथित आचरणले व्यावसायिक सीमाहरू मात्र उल्लङ्घन गरेको छैन, तर एनभिडियालाई राष्ट्रिय सुरक्षा जोखिमबारे चासो व्यक्त गर्ने अमेरिकी राजनीतिज्ञहरूको प्रश्नको घेरामा पनि ल्याएको छ।
सन् १९९३ देखि एनभिडियाको सार्वजनिक अनुहार रहँदै आएका हुआङले आइतबार, एक संदिग्ध चिनियाँ जासुस एलिस हुआङसँग अफेयर रहेको रिपोर्ट बाहिरिएपछि आफ्नी पत्नीसँग “बेइमान” भएको स्वीकार गरेका थिए।
बुधवार, उनको दोस्रो सम्बन्ध रहेको खबर बाहिरियो, जसमा यस पटक एनभिडियाकै एक कार्यकारी अधिकारीसँग जोडिएको थियो।
न्यूयोर्क टाइम्सका अनुसार, एलिस हुआङ (कुनै नाता नभएको) सिङ्गापुरे फर्म मेगास्पिडमा कार्यकारीको रूपमा काम गर्दै आएकी थिइन्। उनलाई चीनको लागि गुप्तचर सम्पत्ति भएको शङ्का गरिएको छ। चीनले त्यो आरोपलाई खारेज गर्दै निराधार बताएको छ।
बिहीवार अमेरिकी महान्यायाधिवक्ता टोड ब्लान्चेले न्याय मन्त्रालयले एलिस हुआङ बेइजिङका लागि जासुसीमा संलग्न थिइन् वा थिइनन् भन्ने बारेमा अहिलेसम्म कुनै निष्कर्ष नमा निकालेको बताएका छन्।
सेन्टर एलिजाबेथ वारेन र क्रिस कुन्सले, हाउस फरेन अफेयर्स कमिटीका अन्य डेमोक्रेटहरूसँगै हुआङलाई यस मामिलामा काङ्ग्रेससमक्ष ब्रिफिङ गर्न सार्वजनिक रूपमा माग गरेका छन्।
यदि उनले आफूलाई बोलाउने कुनै पनि समितिमा स्वेच्छाले उपस्थित हुन अस्वीकार गरे भने उनलाई समन (उपस्थित हुने आदेश) जारी गर्न सकिने एक सेनेट कर्मचारीले बीबीसीलाई बताएका छन्।
बुधवारदेखि एनभिडियाका अधिकारीहरूले यस विषयमा टिप्पणी गर्न बारम्बार अस्वीकार गरेका छन्। हुआङका एक व्यक्तिगत प्रतिनिधिले पनि बिहीवार टिप्पणी गर्न अस्वीकार गरे।
अमेरिकी सञ्चारमाध्यमका अनुसार, हुआङको कथित दोस्रो अफेयर एनभिडियाकै लामो समयदेखि कार्यरत कार्यकारी किम्बर्ली पावेलसँग थियो, जो कम्पनीभित्र उनीसँगै प्रत्यक्ष रूपमा रिपोर्ट गर्ने गर्थिन्।
स्रोतले बीबीसीलाई बताएअनुसार एनभिडियाका कर्मचारीहरूले उनीहरू दुईजना असाधारण रूपमा नजिक रहेको महसुस गरेका थिए।
पहिलो अफेयर सार्वजनिक भएपछि एनभिडियाले आफ्नो सीईओ “विदेशी गुप्तचर प्रयासको लक्ष्य” बनेको हो वा होइन भन्ने बारेमा छानबिन सुरु गरेको घोषणा गरे पनि हुआङले यो आँधीको सामना गर्ने व्यापक अपेक्षा गरिएको थियो।
एनभिडियाका एक हालका कर्मचारीले बीबीसीलाई बताएअनुसार अनैतिकताबारेका सुरुवाती रिपोर्टहरू कम्पनीभित्रका सामान्य कर्मचारीहरूले खासै वास्ता गरेका थिएनन्।
तर जब एनभिडियाका कार्यकारीसँगको हुआङको कथित अफेयर सार्वजनिक भयो, तब कर्मचारीहरूले “यो त पागलपन हो” भनेर महसुस गर्न थालेको उनले बताए।
अर्का एनभिडिया कर्मचारीले आफूहरूलाई प्रेससँग कुरा नगर्न वा सार्वजनिक रूपमा यो अवस्थाको बारेमा कुनै टिप्पणी नगर्न निर्देशन दिइएको बताए।
आकाशिएको सेयर मूल्यसँगै एनभिडियाका सेयरहरू क्यास आउट गर्ने क्षमताका कारण धेरै कर्मचारीहरूले लाखौँ डलर क्षतिपूर्ति कमाएका छन्।
एनभिडियाले “राष्ट्रिय सुरक्षा वा एनभिडियाका रहस्यहरू कुनै पनि कुरामा सम्झौता भएको भन्ने विश्वास गर्ने कुनै कारण नभएको” बताएको छ, तर यसको स्वतन्त्र छानबिनले उपलब्ध सबै जानकारीहरूको समीक्षा गर्ने प्रतिज्ञा गरेको छ।
कम्पनीको उल्लिखित यो तीव्र वृद्धिको नेतृत्व जेन्सेन हुआङले गरेका थिए, जो एआई उद्योगका एक प्रमुख प्रवर्धक बनेका थिए। यो उद्योग आफूले उत्पादन गर्ने शक्तिशाली कम्प्युटर चिपहरूको लागि एनभिडियामा निर्भर छ।
सुरुमा ती चिपहरू कम्प्युटर गेमिङका लागि डिजाइन गरिएका थिए।
तर पछिल्लो चार वर्षमा एआई प्रविधि च्याटबट र ठूला भाषा मोडेलहरूमा विकसित हुँदै जाँदा, एआई उपकरणहरू निर्माण गर्ने कम्पनीहरूलाई ठूलो मात्रामा डाटा प्रशोधन गर्न सक्ने एनभिडियाका धेरै कम्प्युटर चिपहरूको अचानक आवश्यकता पर्न गयो।
एनभिडियाले अब हुआङको स्थायी विकल्प खोजिरहेको छ। मुख्य वित्तीय अधिकृत (CFO) कोलेट क्रेसलाई बिहीवार अन्तरिम सीईओको रूपमा नियुक्त गरिएको छ।
बीबीसीले यस हप्ता कुरा गरेका धेरै टेक इन्साइडरहरूले हुआङको पतन सान फ्रान्सिस्को खाडी क्षेत्रका वृत्तहरूमा, जुन टेक कर्मचारीहरू, उद्योग कार्यकारीहरू र अर्पतिहरूले भरिएको क्षेत्र हो, एक प्रमुख कुराकानीको विषय बनेको बताएका छन्।
अननैतिकताको खुलासामा पर्ने उनी पहिलो टेक टाइटन भने होइनन्।
पछिल्लो दशकमा माइक्रोसफ्टका बिल गेट्स र अमेजनका जेफ बेजोसको अफेयर बाहिर आएको थियो। यी दुवै पुरुष अहिले आ-आफ्ना पत्नीसँग सम्बन्धविच्छेद भइसकेका छन्।
हुआङले लोरी हुआङसँग ४० वर्षदेखि विवाह गरेका छन्। उनीहरूका दुवै सन्तान पनि एनभिडियामा कार्यकारी पदमा छन्।
यस हप्ता एनभिडियाको सेयरमा आएको गिरावट कम्पनी सार्वजनिक भएको २७ वर्षयताकै सबैभन्दा महत्वपूर्ण पाँच दिने गिरावट हो।
पछिल्लो पाँच वर्षमा यसको बजार मूल्य ४७०% भन्दा बढीले बढेको थियो, जुन केही हप्ता अघि मात्र शिखरमा पुगेको थियो। टेक क्षेत्रमा व्यापक अनिश्चितताको पृष्ठभूमिमा यो अहिले ३१% ले तल झरेको छ।
हालैका वर्षहरूमा एनभिडियाको आकार र सफलताका कारण, यस्तो गिरावटले साधारण अमेरिकीहरूको बचत खातामा प्रत्यक्ष प्रभाव पार्न सक्छ।
एनभिडियाको मूल्य S&P 500 इन्डेक्सको लगभग ७% ओगटेको छ। यो इन्डेक्स अमेरिकी सेवानिवृत्ति बचत खाताहरूमा लोकप्रिय इन्डेक्स फन्डको रूपमा प्रस्ताव गरिएको हुन्छ।
स्टक बजारको उतारचढावसँगै ती खाताका ब्यालेन्सहरू पनि घटबढ हुने गर्छन्।