तलब वृद्धिको माग गर्दै १०० भन्दा बढी कपडा उद्योग बन्द

तलब वृद्धिको माग गर्दै १०० भन्दा बढी कपडा उद्योग बन्द

काठमाडौँ । न्यूनतम पारिश्रमिक बढाउनुपर्ने माग गर्दै बंगलादेशका कपडा उद्योगका श्रमिकहरूको आन्दोलन पुनः चर्किएको छ । 

बिहीबार गाजीपुर, आशुलिया र सावरलगायत प्रमुख औद्योगिक क्षेत्रमा ठूलो संख्यामा श्रमिकले काम गर्न अस्वीकार गरेका छन् । उनीहरू कतिपय सडकमा प्रदर्शनमा उत्रिएका छन् । तर, प्रदर्शनकारीलाई प्रहरीले रोकेको छ । आन्दोलनका कारण १०० भन्दा बढी कपडा कारखाना बन्द गर्नुपरेको छ ।

बंगलादेशको तयारी पोशाक उद्योगलाई देशको अर्थतन्त्रको मेरुदण्ड मानिन्छ । करिब ३८ अर्ब अमेरिकी डलरको यस उद्योगले कुल निर्यात आम्दानीको झन्डै ८० प्रतिशत हिस्सा ओगटेको छ । यस क्षेत्रमा ४० लाखभन्दा बढीले रोजगारी पाएका छन् । श्रमिकहरूले हाल कायम मासिक न्यूनतम पारिश्रमिक १२ हजार ५०० टाकाबाट बढाएर ३० हजार टाका पुर्‍याउन माग गरेका छन् । 

यद्यपि, तलब बोर्डले नोभेम्बर ४ मा न्यूनतम पारिश्रमिक वृद्धि गर्ने सहमति जनाइसकेको छ । नयाँ तलबदर डिसेम्बरमा घोषणा गरी जनवरीदेखि लागु गर्ने तयारी छ । यसैबीच, बंगलादेश गार्मेन्ट म्यानुफ्याक्चरर्स एन्ड एक्सपोर्टर्स एसोसिएसन (बीजीएमईए)ले उद्योग क्षेत्रमा जारी अशान्तिप्रति चिन्ता व्यक्त गरेको छ । संगठनका अधिकारीहरूले निरन्तरको विरोधले उद्योग, श्रमिक र समग्र अर्थतन्त्र प्रभावित भइरहेको बताएका छन् ।

कारखाना सञ्चालकहरूले आन्दोलनका कारण उत्पादन प्रभावित भएपछि ‘नो वर्क, नो पे’ नीति लागु गर्नेबारे योजना बनाइरहेको बताइएको छ ।