शेख हसिनाको गृह जिल्लामा भड्कियो हिंसा

शेख हसिनाको गृह जिल्लामा भड्कियो हिंसा

काठमाडाैँ। बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको गृहजिल्ला गोपालगन्जमा उनको स्वदेश फिर्तीको माग गर्दै भएको प्रदर्शनका क्रममा हिंसा भड्किएको छ। प्रदर्शनका क्रममा तोडफोड र आगजनी भएपछि सरकारले जिल्लाका प्रमुख प्रशासनिक अधिकारी र प्रहरी प्रमुखलाई पदबाट हटाएको छ।

आइतबार भएको प्रदर्शनपछि गोपालगन्जका डेपुटी कमिस्नर (डिसी) मोहम्मद आरिफ उज जमान र प्रहरी प्रमुख (एसपी) मोहम्मद हबीबुल्लाहलाई सरकारले जिम्मेवारीबाट हटाएको हो। उनीहरूको ठाउँमा नयाँ अधिकारी नियुक्त गरिएको छ। हसिनाको पार्टी अवामी लिगका नेता तथा कार्यकर्ताले उनको स्वदेश फिर्तीको माग गर्दै प्रदर्शन गरेका थिए। बंगलादेशको सरकारले अवामी लिगका गतिविधिमाथि प्रतिबन्ध लगाएको छ।

प्रदर्शनकारीले गोपालगन्जस्थित अवामी लिगको जिल्ला कार्यालयमा प्रवेश गरी तोडफोड गरेका थिए। सन् २०२४ अगस्टमा हसिना सरकार ढलेपछि उक्त कार्यालय बन्द थियो। उनीहरूले सहरको लन्चघाट क्षेत्रमा रहेको जुलाई स्मारक र प्रहरीको एउटा चौकीमा समेत तोडफोड गरेका थिए। प्रहरीको एउटा बख्तरबन्द गाडीमा पनि क्षति पुर्‍याइएको थियो।

प्रदर्शनकारीले सहरका विभिन्न सडकमा टायर बालेर यातायात अवरुद्ध पारेका थिए। प्रहरीको गाडीमा ‘जय बंगला़’ लेखिएको भिडियो पनि सामाजिक सञ्जालमा सार्वजनिक भएको छ।

प्रदर्शनका क्रममा गोपालगन्ज सरकारी कलेजको नामपट्टी हटाएर त्यसको ठाउँमा पुरानो नाम ‘गभर्नमेन्ट बंगबन्धु कलेज’ लेखिएको ब्यानर राखिएको थियो। हसिना सरकार ढलेपछि सन् २०२४ अगस्टमा कलेजको नाम परिवर्तन गरी गोपालगन्ज सरकारी कलेज राखिएको थियो। अवामी लिगका गोपालगन्ज जिल्ला नेता इलियास हकले हसिना स्वदेश नफर्किएसम्म आन्दोलन जारी राख्ने बताएका छन्।

पार्टीको र्‍यालीलाई सम्बोधन गर्दै उनले भने, ‘पूर्वप्रधानमन्त्री र बंगलादेशका संस्थापक शेख मुजिबुर रहमानकी छोरी शेख हसिना देश नफर्किएसम्म सडक आन्दोलन जारी रहनेछ।’ हसिनाको स्वदेश फिर्तीको माग गर्दै अवामी लिगले नोभेम्बर १९ मा प्रदर्शन गर्ने घोषणा गरेको थियो।

 त्यसैको तयारीका क्रममा आइतबार गोपालगन्जमा पार्टीका नेता तथा कार्यकर्ता भेला भएका थिए। स्थानीय पत्रकारका अनुसार जिल्लाका विभिन्न क्षेत्रबाट मोटरसाइकल, भ्यान, बस र ट्रकमा आएका प्रदर्शनकारी बिहानैदेखि सहरमा जम्मा हुन थालेका थिए। गोपालगन्ज हसिनाको जन्मथलो र पारिवारिक आधार क्षेत्र हो। उनका पिता तथा बंगलादेशका संस्थापक नेता शेख मुजिबुर रहमानको पनि यही जिल्लामा जन्म भएको थियो।

अवामी लिगको बलियो प्रभाव रहेको क्षेत्रका रूपमा समेत गोपालगन्जलाई चिनिन्छ। सन् २०२४ अगस्टमा विद्यार्थी आन्दोलनपछि सरकार ढलेसँगै हसिना बंगलादेश छाडेर भारत पुगेकी थिइन्। त्यसयता उनी भारतमै बस्दै आएकी छन्। ७९ वर्षीया हसिनाले आगामी डिसेम्बरमा बंगलादेश फर्किने इच्छा व्यक्त गर्दै आएकी छन्। बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले सन् २०२५ नोभेम्बरमा विद्यार्थी आन्दोलनका क्रममा प्रदर्शनकारीमाथि हसिना नेतृत्वको सरकारले गरेको दमनलाई मानवताविरुद्धको अपराध ठहर गर्दै उनको अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाएको थियो। हसिनाले भने आफूमाथिका आरोप र न्यायिक प्रक्रियालाई अस्वीकार गर्दै आएकी छन्।

बंगलादेशले हसिनालाई भारतबाट फिर्ता ल्याउने विषयलाई दुई देशबीचको सम्बन्धसँग पनि जोड्दै आएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले हसिनाको सुपुर्दगीसम्बन्धी अनुरोध प्राप्त भएको पुष्टि गर्दै यो कानुनी विषय भएकाले सोहीअनुसार प्रक्रिया अघि बढाइने बताएका थिए।

हिंसापछि गोपालगन्जमा सुरक्षा व्यवस्था कडा पारिएको छ। सरकारले सीमा सुरक्षा बल (बीजीबी) का छ प्लाटुन परिचालन गरेको छ। ढाका रेन्जका प्रहरी नायब महानिरीक्षक मोहम्मद मुस्तफिजुर रहमानका अनुसार जिल्लामा एक हजार ३५० प्रहरी परिचालन गरिएको छ। सार्वजनिक तथा सरकारी संरचनाको सुरक्षाका लागि थप सुरक्षा व्यवस्था मिलाइएको उनले बताएका छन्।

बंगलादेशको सरकारी समाचार संस्था बीएसएस र स्थानीय सञ्चारमाध्यमका अनुसार प्रदर्शनका क्रममा यातायातसमेत अवरुद्ध भएको थियो। घटनापछि सुरक्षा निकायले जिल्लाका विभिन्न क्षेत्रमा निगरानी बढाएका छन्।