पुटिनको क्रिमिया पुल आंशिक रूपमा भत्कियो, युक्रेनको ‘अभूतपूर्व’ आक्रमणको जेलेन्स्कीद्वारा प्रशंसा

पुटिनको क्रिमिया पुल आंशिक रूपमा भत्कियो, युक्रेनको ‘अभूतपूर्व’ आक्रमणको जेलेन्स्कीद्वारा प्रशंसा

एजेन्सी । युक्रेनले रुसलाई कब्जा गरिएको क्रिमियासँग जोड्ने महत्वपूर्ण पुलमा गम्भीर क्षति पुर्‍याएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले हप्तौंको तयारीपछि गरिएको यो कारबाहीलाई ‘अभूतपूर्व अपरेसन’ भनेका छन् ।

युक्रेनी अधिकारीहरूले सार्वजनिक गरेका तस्बिरहरूमा केर्च पुलको नामले समेत चिनिने क्रिमिया पुलको एक खण्ड पानीमा भत्किएर खसेको देखिन्छ । यसले रुसको युद्ध प्रयासमा ठूलो आपूर्ति (लजिस्टिक) तथा प्रतीकात्मक धक्का पुर्‍याएको छ ।

क्रेमलिनका एक प्रवक्ताले उक्त पुललाई ‘पहिलेभन्दा अझ राम्रो’ बनाइने दाबी गरेका छन् ।

उता, रुसले रातभर युक्रेनी राजधानीमा आक्रमण गरेपछि निप्रो नदीमाथिका दुई महत्वपूर्ण उत्तरी र दक्षिणी पुलहरू बन्द गरिएको किएभका मेयर भिटाली क्लिट्स्कोले बताएका छन् ।

युक्रेनले अग्रपङ्क्तिमा जाने रुसी सैनिकहरूका लागि सडक तथा रेल मार्ग उपलब्ध गराउने क्रिमिया पुललाई लामो समयदेखि निशाना बनाउँदै आए पनि यसलाई पूर्ण रूपमा बन्द गराउन सङ्घर्ष गरिरहेको थियो ।

मङ्गलबार रिपोर्ट गरिएको क्षति अघिल्ला आक्रमणहरूको तुलनामा निकै गम्भीर देखिएको छ, जसमा पुलको ठूलो अर्धवृत्ताकार (आर्च) खण्ड पूर्ण रूपमा ध्वस्त भएको देखिन्छ । भिडियो फुटेजहरूमा सडक खण्डमा गम्भीर क्षति पुगेको र सपोर्ट आर्च तथा सडकको भाग तल पानीबाट बाहिर निस्किएको देख्न सकिन्छ ।

जेलेन्स्कीले रातभरको यो आक्रमण सेना र सुरक्षा निकायहरूको सात चरणको अपरेसनको नतिजा भएको बताए । उनका अनुसार यस क्रममा युक्रेनी फौजले ‘अन्तिम लक्ष्यसम्म पुग्ने बाटोमा रहेका हवाई प्रतिरक्षा प्रणाली, राडार, इलेक्ट्रोनिक युद्ध उपकरण र अन्य तोकिएका निशानाहरूलाई क्रमशः ध्वस्त’ पारेका थिए ।

सडक खण्डको समानान्तर रहेको रेल खण्डमा पनि ड्रोनको लहरले आक्रमण गरिएको उनले बताए । यद्यपि, तस्बिरहरूमा यसको सपोर्टिङ आर्च अझै ठडिएको देखिन्छ भने रुस समर्थित एक अधिकारीले केही रेल सेवाहरू सञ्चालनमा रहेको बताएका छन् ।

सन् २०१४ मा क्रिमिया प्रायद्वीपमा आक्रमण गरी गाभेपछि रुसले यो पुल निर्माण गरेको थियो र सन् २०१८ मा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले व्यक्तिगत रूपमा यसको उद्घाटन गरेका थिए ।

युक्रेनले तेल प्रशोधन केन्द्र र डिपोहरूमा प्रहार गरेर रुसका लागि युद्धको आर्थिक लागत बढाउने प्रयास गरिरहँदा यो पुलमाथिको आक्रमण भने पुटिनमाथि राजनीतिक दबाब बढाउने प्रयास हो ।

पुटिनले चीन र अमेरिकाका नेताहरूसँग भेटवार्ता गर्नु ठीक अघि भएको यो आक्रमणको समय निकै महत्वपूर्ण छ । यसले विश्व मञ्चमा पुटिनको पुनरागमनको चमकलाई धमिलो पार्न सक्छ ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले युक्रेनी आक्रमणपछि पुलको पुनर्निर्माण गरिने र ‘यो पहिलेभन्दा पनि राम्रो हुने’ बताए । उनले यो आक्रमण पुटिनको चीन भ्रमणसँग जोडिएको हुन सक्ने सम्भावनालाई पनि नकारेनन् ।

रुसको अनुसन्धान समितिले संरचनागत क्षति भएको पुष्टि गर्दै ‘युक्रेनका सशस्त्र समूहहरू’ द्वारा गरिएको आक्रमणपछि ‘आतङ्कवादको आरोपमा फौजदारी मुद्दा’ दर्ता गरिएको जनाएको छ । रुसी रक्षा मन्त्रालयका अनुसार युद्ध सुरु भएयताकै सबैभन्दा ठूलो युक्रेनी ड्रोन आक्रमण लगातार दोस्रो दिन पनि रेकर्ड गरिएको छ, जसमा २ हजार २ सय ५६ वटा ड्रोन खसालिएको दाबी गरिएको छ ।

किएभमा जनजीवन प्रभावित

आक्रमणपछि दुई मुख्य पुलहरू बन्द गरिँदा मङ्गलबार किएभमा भारी ट्राफिक जाम भएको थियो । बिहीबार चीनको सेन्जेनमा पुटिन, डोनाल्ड ट्रम्प र सी चिनफिङबीच हुने भेटवार्ताअघिका दिनहरूमा ठूला आक्रमण हुन सक्ने चेतावनी जेलेन्स्कीले दिएका थिए ।

मङ्गलबार मध्यरातअघि किएभमा ठूला विस्फोटका आवाज सुनिएका थिए । लगत्तै मेयर क्लिट्स्कोले सहरका ‘महत्वपूर्ण पूर्वाधार प्रणालीमा क्षति’ पुगेको तथा तताउने (हिटिङ) र पानी आपूर्ति अवरुद्ध भएको बताए ।

नागरिकहरूलाई नागरिक सुरक्षा आश्रयस्थल (सेल्टर) मा जान भनिएपछि रातभर भएको आक्रमणमा किएभका केही जमिनमाथिका सब–वे सेवाहरूमा क्षति पुगेको अधिकारीहरूले बताएका छन् ।

किएभको पश्चिमी र पूर्वी भागलाई जोड्ने निप्रो नदीमा आठवटा ठूला पुल छन् र करिब ३० लाख बासिन्दा सहर वारपार गर्न यिनै पुलमा निर्भर छन् । व्यस्त उत्तरी र दक्षिणी पुलमा भएको आक्रमणले मानिसहरूको दैनिक जीवनमा ठूलो अवरोध पुर्‍याउनेछ । उता, चेर्कासी क्षेत्रमा रुसी क्षेप्यास्त्र आक्रमणमा तीन जना घाइते भएको स्थानीय अधिकारीहरूले जनाएका छन् ।

रुसी सेनाका लागि आपूर्ति सङ्कटको जोखिम

क्रिमिया पुलमा भएको आक्रमणको दीर्घकालीन प्रभाव अझै पूर्ण रूपमा स्पष्ट नभए पनि रुसी सेनाका लागि गम्भीर यातायात तथा आपूर्ति (लजिस्टिक) सङ्कटको जोखिम निकै बढेको छ ।

पुलको आर्च खण्ड भत्किएपछि कम्तीमा मर्मत नहुन्जेलका लागि रुससँग प्रायद्वीपको प्रत्यक्ष सडक र रेल सम्पर्क विच्छेद भएको छ ।

यद्यपि, कब्जा गरिएका जापोरिझिया र खेरसन क्षेत्र हुँदै जाने स्थल मार्ग अझै बाँकी छ । तर, युक्रेनले उत्तरी क्रिमियाका यातायात मार्गका साथै चोङ्गार क्षेत्र आसपासका पुल र अन्य क्रसिङहरूमा योजनाबद्ध रूपमा आक्रमण गरिरहेको छ । यसले इन्धन र सैन्य कार्गोलगायतका अन्य सामग्रीको आपूर्तिमा पहिले नै समस्या निम्त्याइसकेको छ ।

केर्च जलडमरू वारपार गर्न फेरी (जलयात्रा) सेवा उपलब्ध छ । यसले पुलको क्षतिलाई आंशिक रूपमा पूर्ति गर्न सक्छ, तर यसको क्षमता निकै सीमित छ र यो पनि आक्रमणको जोखिममा छ ।

रुसले समुद्री मार्गबाट पनि क्रिमियामा आपूर्ति गर्न सक्छ, तर युक्रेनी नौसैनिक र हवाई ड्रोनहरू त्यस क्षेत्रमा व्यापक रूपमा सक्रिय रहेकाले यो मार्ग पनि जोखिमपूर्ण छ ।

यसका साथै, क्रिमिया पुलको भग्नावशेष—विशेषगरी यसको विशाल आर्चले—पानीजहाज चल्ने च्यानल अवरुद्ध पारेको हुन सक्छ । यसले ठूला जहाजहरू आवतजावत गर्न कठिन बनाउनेछ र मारिउपोल तथा बर्डियान्स्कलगायत आजोभ सागरका बन्दरगाहहरूमा थप समस्या सिर्जना गर्नेछ ।

रुसले सन् २०२२ को फेब्रुअरीमा युक्रेनमाथि पूर्ण स्तरको आक्रमण सुरु गरेको थियो । हाल युक्रेनको करिब पाँच भागको एक भाग रुसी कब्जामा छ भने किएभले आफ्नो नियन्त्रणमा रहेका पूर्वी दोनबासका क्षेत्रहरू त्याग्नुपर्ने पुटिनको मागलाई अस्वीकार गर्दै आएको छ ।