काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह आगामी मंसिर ६ र ७ गते दुईदिने औपचारिक भ्रमणका लागि भारतको नयाँदिल्ली जाने भएका छन् । स्रोतका अनुसार मंसिर ६ गते दिउँसो दिल्ली प्रस्थान गर्ने प्रधानमन्त्री शाह करिब २५ घण्टाको संक्षिप्त भ्रमण पूरा गरी भोलिपल्ट मंसिर ७ गते दिउँसो स्वदेश फर्किने कार्यक्रम तय भएको छ ।
भ्रमणका क्रममा मंसिर ७ गते प्रधानमन्त्री शाहले भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा उच्चस्तरीय भेटवार्ता गर्नेछन् । कार्यतालिकाअनुसार सुरुमा दुवै प्रधानमन्त्रीबीच करिब ३० मिनेट एक्लाएक्लै (वान-अन-वान) वार्ता हुनेछ भने लगत्तै दुवै देशका प्रतिनिधिमण्डलस्तरमा औपचारिक द्विपक्षीय छलफल हुनेछ । यसका साथै प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मु र विदेशमन्त्री डा. एस. जयशंकरसँग पनि शिष्टाचार भेटवार्ता गर्ने तयारी छ ।
द्विपक्षीय भेटवार्तामा नेपालले भारतसँग आर्थिक सहयोग, अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार तथा थप हवाई प्रवेशमार्ग (एयर रुट) उपलब्ध गराउने विषयलाई मुख्य प्राथमिकताका साथ उठाउने तयारी गरेको छ ।
यसका अतिरिक्त ऊर्जा व्यापार, पूर्वाधार विकास र जनकपुर–अयोध्या सीधा रेल सेवा सञ्चालन लगायतका एजेन्डामा समेत छलफल हुने बताइएको छ । भ्रमण टोलीमा परराष्ट्र, भौतिक पूर्वाधार, ऊर्जा तथा पर्यटनमन्त्री लगायतका उच्च अधिकारीहरू सहभागी रहनेछन् ।