काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सत्ता सम्हालेको १२ वर्षमा विदेश भ्रमणका क्रममा ९०० करोड रुपैयाँभन्दा बढी खर्च भएको छ। भारतको विदेश मन्त्रालयले संसदका दुवै सदन लोकसभा र राज्यसभामा सोधिएका प्रश्नको जवाफ दिँदै यस्तो जानकारी दिएको हो।
विदेश मन्त्रालयका अनुसार सन् २०१४ जुनदेखि २०२६ जुलाईसम्म मोदीले ८१ देशमा १८३ पटक विदेश भ्रमण गरेका छन्। यस अवधिमा भएका भ्रमणमा ९०० करोड रुपैयाँभन्दा बढी खर्च भएको देखिएको हो।
मोदीले सन् २०१५ मा सबैभन्दा धेरै विदेश भ्रमण गरेका थिए। उक्त वर्ष उनले २८ पटक विदेश भ्रमण गरेका थिए। त्यसपछि सन् २०२५ मा २३ देशको भ्रमण गरेका थिए।
खर्चका हिसाबले भने सन् २०२५ सबैभन्दा महँगो वर्ष बनेको छ। उक्त वर्ष मोदीको विदेश भ्रमणमा कम्तीमा १८७ करोड ८० लाख भारतीय रुपैयाँ खर्च भएको थियो। सन् २०१५ मा भने ९१ करोड ५० लाख रुपैयाँ खर्च भएको थियो। मुद्रास्फीतिलाई समायोजन गर्दा सन् २०१५ को खर्च करिब १४५ करोड रुपैयाँ हुन आउँछ।
संसदमा प्रस्तुत विवरणअनुसार सन् २०२२ देखि २०२४ सम्मको तीन वर्षमा मोदीको विदेश भ्रमणका क्रममा आवासमा करिब १०४ करोड रुपैयाँ खर्च भएको थियो। त्यस्तै,अन्य खर्चमा ७५७ करोड, यातायातमा ७१ करोड र कार्यक्रमस्थल,सुरक्षा तथा उपकरणमा करिब चार करोड रुपैयाँ खर्च भएको थियो।
मोदीले आफ्नो कार्यकालमा सबैभन्दा धेरै अमेरिकाको भ्रमण गरेका छन्। उनले हालसम्म १० पटक अमेरिका भ्रमण गरेका छन्। त्यसपछि संयुक्त अरब इमिरेट्स,जापान र फ्रान्सको आठ–आठ पटक भ्रमण गरेका छन्।
सन् २०१९ मा गरिएको अमेरिका भ्रमण सबैभन्दा महँगोमध्ये एक थियो। उक्त भ्रमणमा ३७ करोड ७० लाख रुपैयाँ खर्च भएको थियो। सोही क्रममा उनले टेक्सासको ह्युस्टनमा आयोजित ‘हाउडी मोदी’ कार्यक्रममा सहभागिता जनाएका थिए। उक्त कार्यक्रममा करिब ५० हजार मानिस उपस्थित थिए।
विदेश मन्त्रालयका अनुसार प्रधानमन्त्रीको विदेश भ्रमणका क्रममा आवास तथा अन्य सुविधाको खर्च आयोजक देशले बेहोर्ने गर्छ। तर, भ्रमणमा सहभागी हुने अधिकारीहरूको खर्च र सुरक्षा व्यवस्थापनको खर्च भारत सरकारले नै बेहोर्ने गरेको छ।
मन्त्रालयले यस्ता उच्चस्तरीय भ्रमणले विभिन्न देशसँगको सम्बन्ध सुदृढ बनाउन तथा द्विपक्षीय,क्षेत्रीय र विश्वव्यापी स्तरमा भारतको कूटनीतिक संलग्नता विस्तार गर्न सहयोग पुग्ने जनाएको छ।
हाल मोदी हाल फिलिपिन्सको दुईदिने भ्रमणमा छन्। उनी मनिलामा आयोजित आसियान–भारत शिखर सम्मेलनमा सहभागी हुन पुगेका हुन्। उनले त्यहाँ क्वाड शिखर सम्मेलनमा समेत सहभागिता जनाउने कार्यक्रम छ।