काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले आफ्नो कार्यकालमा यसअघि कुनै पनि अमेरिकी राष्ट्रपतिलाई स्वागत गर्न विमानस्थल पुगेका थिएनन् । तर यसपटक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई स्वागत गर्न उनी आफैँ सेन्जेन विमानस्थल पुगेका छन् ।
कूटनीतिक शिष्टाचार र प्रोटोकललाई विशेष महत्त्व दिने चीनमा सी आफैँ विमानस्थल पुगेर ट्रम्पलाई स्वागत गर्नुलाई चीनले अमेरिका–चीन सम्बन्धलाई दिएको महत्त्वका रूपमा हेरिएको छ ।
यसअघि यसै वर्ष ट्रम्पले पनि सी अमेरिका पुग्दा विमानस्थलमै पुगेर व्यक्तिगत रूपमा स्वागत गरेका थिए । सी संयुक्त बेस एन्ड्र्युजमा अवतरण गर्दा ट्रम्प उनलाई स्वागत गर्न पुगेका थिए ।
चीनको पछिल्लो कूटनीतिक प्रोटोकलअनुसार सामान्यतया राष्ट्रप्रमुखहरू विदेशी पाहुनालाई स्वागत गर्न विमानस्थल जाने गर्दैनन् ।आजै सेन्जेन पुगेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भने सीका शक्तिशाली सहयोगी तथा चिनियाँ कम्युनिस्ट पार्टीको पोलिटब्युरो स्थायी समितिका सदस्य काई छीले स्वागत गरेका थिए ।
राष्ट्रपतिको सट्टा यति उच्च तहका अधिकारी स्वागतका लागि पुग्नु पनि असामान्य कूटनीतिक अभ्यास मानिन्छ ।सी यसअघि अन्तिमपटक तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामालाई स्वागत गर्न विमानस्थल पुगेका थिए । त्यतिबेला उनी चीनका उपराष्ट्रपति थिए ।