स्थानीय तह निर्वाचनको तयारीमा आयोग तीव्र : आज राष्ट्रिय दलहरूसँग परामर्श

स्थानीय तह निर्वाचनको तयारीमा आयोग तीव्र : आज राष्ट्रिय दलहरूसँग परामर्श

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको पूर्वतयारीलाई तीव्रता दिँदै आज (शुक्रबार) राजनीतिक दलहरूसँग छलफल सुरु गरेको छ।

निर्वाचनको मिति घोषणा हुनुअघि गर्नुपर्ने नियमित प्रशासनिक तथा व्यवस्थापकीय गृहकार्य अघि बढाएको आयोगले मिति, व्यवस्थापन र आवश्यक पूर्वतयारीका विषयमा सुझाव लिन राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका प्रतिनिधिहरूलाई परामर्शका लागि बोलाएको हो।

निर्वाचन आयुक्त सगुन शमशेर ज.ब.रा.का अनुसार दलहरूसँगको छलफलपछि प्राप्त सुझावका आधारमा नेपाल सरकारसँग परामर्श गरी निर्वाचनको मिति घोषणा तथा बाँकी प्रक्रिया अघि बढाइनेछ। राष्ट्रिय दलहरूसँगको छलफललगत्तै आयोगमा दर्ता भएका अन्य राजनीतिक दलहरूसँग पनि क्रमशः परामर्श गर्ने आयोगको कार्यतालिका छ।

नामावली अद्यावधिकदेखि सामग्रीको आँकलनसम्म

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार हाल मतदाता नामावली अद्यावधिक गर्ने, मतदानस्थल तथा मतदान केन्द्रको पुनरावलोकन गर्ने र आवश्यक निर्वाचन सामग्रीको विवरण संकलन गर्ने काम भइरहेको छ।

मतदातालाई पायक पर्ने गरी मतदान केन्द्र निर्धारण गर्न स्थानीय तहका जनप्रतिनिधि र दलहरूको संयुक्त बैठकबाट प्राप्त सिफारिसलाई हाल प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्ला तहमा पुनरावलोकन गरिँदैछ। साथै, आयोगसँग मौज्दात रहेका निर्वाचन सामग्रीको अवस्था जाँच गरी अपुग हुने सामग्रीको परिमाणसमेत आँकलन भइरहेको प्रवक्ता भट्टराईले जानकारी दिए।

मिति घोषणापछि मात्र कर्मचारी व्यवस्थापन

निर्वाचनमा खटिने जनशक्ति व्यवस्थापनको काम भने सरकारले निर्वाचनको मिति घोषणा गरेपछि मात्र अघि बढाइने आयोगले स्पष्ट पारेको छ। विगतको अनुभवका आधारमा आवश्यक कर्मचारीको संख्या, उपलब्धता र अपुग जनशक्तिको यकिन विवरण निर्वाचन कार्यक्रम सार्वजनिक भएपछि मात्र तय गरिने प्रवक्ता भट्टराईले बताउनुभयो।

कानुनी व्यवस्था र समयसीमा

स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ४ बमोजिम निर्वाचन आयोगको परामर्शमा नेपाल सरकारले स्थानीय तह निर्वाचनको मिति तोक्ने कानुनी प्रावधान छ।

विसं २०७९ वैशाख ३० गते सम्पन्न निर्वाचनबाट चुनिएका स्थानीय जनप्रतिनिधिहरूको पाँचवर्षे कार्यकाल आगामी २०८४ जेठ ५ गते समाप्त हुँदैछ। निर्वाचन सम्पन्न गर्न कम्तीमा १२० दिनको तयारी अवधि आवश्यक पर्ने भएकाले आयोगले समयमै परामर्श र पूर्वतयारी थालेको हो।