जनकपुरधाम। मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहरूबीच सहमति जुट्न नसक्दा सत्ता समीकरण अन्योलमा परेको छ ।
सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समयसीमा सकिन लाग्दासमेत कुनै दलले स्पष्ट बहुमतसहित दाबी पेस गर्न सकेका छैनन् ।
सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा दलहरूबीच सहमति नजुट्दा नयाँ सरकार गठन प्रक्रिया लम्बिएको हो । नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादव आफ्नो नेतृत्वमा सरकार गठन गर्ने प्रयासमा छन् । तर, नेपाली कांग्रेसले उनलाई समर्थन गर्ने विषयमा सहमति जनाइसकेको छैन ।
यसैबीच, नेपाली कांग्रेसका संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री कृष्णप्रसाद यादव, एमाले संसदीय दलका नेता सरोजकुमार यादव र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संसदीय दलका नेता युवराज भट्टराई अन्तिम समयमा प्रदेश प्रमुखको कार्यालय पुगेका छन् ।