प्रधानमन्त्री शाहले दिल्लीमा रहँदा के-के गर्दै छन्, हेरौँ टाइमलाइन

प्रधानमन्त्री शाहले दिल्लीमा रहँदा के-के गर्दै छन्, हेरौँ टाइमलाइन

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणको औपचारिक कार्यतालिका सार्वजनिक भएको छ। भारतीय विदेश मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको कार्यतालिकाअनुसार प्रधानमन्त्री शाहले आगामी आइतबार र सोमबार (नोभेम्बर २२ र २३) भारतको भ्रमण गर्नेछन्।

कार्यतालिकाअनुसार प्रधानमन्त्री शाह आइतबार दिउँसो भारतीय समयानुसार ३ः१५ बजे (नेपाली समय ३ः३० बजे) नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल ३ मा अवतरण गर्नेछन्। त्यसपछि साँझ ६ बजे भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। उक्त भेट ताजमहल होटलमा हुनेछ।

भ्रमणको दोस्रो दिन सोमबार बिहान १० बजे राष्ट्रपति भवनमा प्रधानमन्त्री शाहको औपचारिक स्वागत गरिनेछ। त्यसपछि बिहान १०ः४० बजे उनले महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेर श्रद्धाञ्जली अर्पण गर्नेछन्।

सोमबार बिहान ११ बजे प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हैदराबाद हाउसमा भेटवार्ता गर्ने कार्यक्रम छ। दुई प्रधानमन्त्रीबीचको भेटवार्तापछि दिउँसो १२ः२५ बजे समझदारीपत्र (एमओयू) आदानप्रदान तथा दुवै पक्षबाट प्रेस वक्तव्य जारी गर्ने कार्यक्रम तय गरिएको छ।

त्यसैगरी, प्रधानमन्त्री शाहले सोमबार दिउँसो ३ः१५ बजे राष्ट्रपति भवनमा भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग भेटवार्ता गर्नेछन्।

भ्रमणको अन्तिम कार्यक्रमअनुसार प्रधानमन्त्री शाह सोमबार साँझ ४ः५० बजे भारतबाट स्वदेश फर्किनेछन्।

भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणामा हुन लागेको प्रधानमन्त्री शाहको यो पहिलो औपचारिक भारत भ्रमण हो। भ्रमणका क्रममा नेपाल–भारत सम्बन्ध, द्विपक्षीय सहयोग तथा विभिन्न समझदारी र सम्झौताका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।