काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणमा दुई देशको सम्बन्धमा ‘बहुआयामिक ब्रेक थ्रु’ ल्याउने तयारी सरकारले गरेको छ । यही मङ्सिर ६ र ७ गते प्रधानमन्त्री शाहको भारत भ्रमण हुने तय भएको छ । उच्चस्तरीय भ्रमणमा प्रस्तुत हुने राष्ट्रिय एजेन्डा, प्रधानमन्त्री शाहले प्रस्तुत गर्ने राष्ट्रिय धारणा र अन्य कागजी प्रक्रिया सबैमा सरकारले दुवै देशको मनसाय झल्काउँदै छिमेकी सम्बन्धलाई ‘बहुआयामिक ब्रेक थ्रु’ मा लैजाने कसरत गरेको हो ।
भारत भ्रमणमा प्रधानमन्त्री शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा हुने एकल तथा प्रतिनिधिमण्डलसहितको छलफलमा प्रस्तुत हुने प्रस्तावका विषयमा परराष्ट्र मन्त्रालयमा बिहीबार गहन छलफल भयो । लगभग तय भएको एजेन्डामा थपघटका विषय, भाषाशैली, भाव र शब्द चयनका लागि प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालयका प्रतिनिधिको सामूहिक गृहकार्य बिहीबार पनि राति अबेरसम्म जारी रह्यो । परराष्ट्रमन्त्री शिशिर खनाल र परराष्ट्र सचिव अमृतबहादुर राईले भ्रमणलाई लिएर भारत सरकारसँग उच्चस्तरीय समन्वय गरिरहेका छन् । उनीहरूले एजेन्डा तयार गर्न बनेको समूहलाई अन्तरमन्त्रालय समन्वय र सहकार्यलाई ध्यानमा राख्न निर्देशन पनि दिएका छन्।
गृहकार्यमै व्यस्त रहनुभएका परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले भने, “हामी भ्रमणलाई फलदायी बनाउन बृहत् र घनीभूत रूपमा भ्रमणका दस्ताबेज र एजेन्डालाई अन्तिम रूप दिँदै छौँ, लगातार तीन दिन भयो यसको परिमार्जन र पुनरवलोकनमा काम गरिरहेका छौँ ।” उनीसँगै एजेन्डालाई अन्तिम रूप दिन बस्नुभएकी प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले पनि प्रधानमन्त्री शाहको भ्रमणलाई जनअपेक्षा अनुसार सफल बनाउन सहकार्य जारी रहेको प्रस्ट्याइन्। दाहालले भनिन्, “एजेन्डा मात्र हैन समग्र भ्रमणको सारलाई बलियो बनाउनु पर्छ भनेर सबै मन्त्रालयसँगको समन्वयलाई बलियो बनाइएको छ ।”
उनीहरूले भन्नुभए जस्तै उक्त गृहकार्यमा दुई देशको सम्बन्धलाई बहुआयामिक सहकार्यमा बदल्ने उद्घोषलाई बलियो बनाउन सन्तुलित शब्दहरूको खोजी भयो ।
“सहकार्य, साझेदारी, आपसी समन्वय, गहन सहकार्य, मैत्रीपूर्ण सहकार्य, दुई देशको हित वा आपसी हित जस्ता अनगन्ती शब्द चयनका लागि मन्थन भयो । त्यति मात्र हैन, नेपाली र अङ्ग्रेजी दस्ताबेजको भावलाई उस्तै दर्शाउन कसरी सकिन्छ भन्ने विषयमा प्रधानमन्त्रीको कार्यालय र परराष्ट्र मन्त्रालयबिच गहिरो छलफल चल्यो,” उनले जानकारी दिए।
उनीहरूसँगै रहेका शिष्टाचार महापाल कुमारराज खरेलले भ्रमणलाई अनुशासित, संयमित र शिष्टाचारयुक्त बनाउन आफ्नो सम्पूर्ण टोलीलाई सक्रिय बनाउनुभएको छ । भ्रमणको संवेदनशीलता र सुरक्षालाई व्यवस्थित गर्ने काममा शिष्टाचार महाशाखा खटिएको छ । उच्चस्तरीय भ्रमणको गहनता र महत्वको ख्याल गर्दै भारत सरकारका विविध निकायसँग पनि सहकार्य भइरहेको छ ।
सुरक्षा निकायले भ्रमणको सुरक्षाको सुनिश्चित गर्न भारत सरकारसँग उच्चस्तरीय समन्वय जारी राखेको छ । नेपालस्थित भारतको राजदूतावास र भारतस्थित नेपालका राजदूतावासले भ्रमणको तारतम्य र प्रधानमन्त्री शाहको नेतृत्वमा हुने भ्रमणदलको अद्यावधिक जानकारी लिइरहेको छ । दिल्लीमा भारत सरकारले नेपाली प्रतिनिधिमण्डलको स्वागतमा कुनै कमी नरहने गरी तयारी गरिरहेको जानकारी गराइरहेको छ । दुई देशबिच सम्भावित समझदारी सम्झौताको दस्ताबेजलाई अन्तिम रूप दिने आन्तरिक तयारी मन्त्रालयले गरिरहेको छ ।