मलेसिया रोजगारी ठगी प्रकरण: दुई पूर्वमन्त्रीसहित ६ जनालाई चार दिन हिरासतमा राख्न अदालतको अनुमति

मलेसिया रोजगारी ठगी प्रकरण: दुई पूर्वमन्त्रीसहित ६ जनालाई चार दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं। वैदेशिक रोजगारीका लागि मलेसिया जाने श्रमिकसँग ठगी गरी संकलन गरिएको रकम गैरकानुनी रूपमा मलेसिया पठाउने निर्णयमा संलग्न रहेको आरोपमा पक्राउ परेका दुई पूर्वमन्त्रीसहित ६ जनाविरुद्ध अदालतले चार दिनको म्याद थप गरेको छ।

तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादव, श्रम मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुखद्वय उमेश ढुंगाना र राजीव पोखरेल तथा तत्कालीन कानुन अधिकृत निर्मला गुरुङविरुद्ध म्याद थप भएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रवक्ता अनुपम शमशेर जबराले जानकारी दिए।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र र विकास रानाभाटसहितको जाहेरीका आधारमा सीआईबीले उनीहरूलाई पक्राउ गरेको हो। काठमाडौं जिल्ला अदालतबाट मंसिर २ गते पक्राउ पुर्जी जारी गर्ने अनुमति लिएर काठमाडौं, ललितपुर र सर्लाहीका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ।

पक्राउ परेकाहरूमाथि ठगी तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत अनुसन्धान भइरहेको छ।