काठमाडौं। राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायर खेलमा अहिले सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच प्रतिस्पर्धा भइरहेको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भइरहेको खेलमा चितवन राइनोजले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।
यसअघि पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग पराजित भएपछि सुदूरपश्चिमले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायर खेल्ने अवसर पाएको हो। यता चितवनले भने इलिमिनेटर खेलमा काठमाडौं गोर्खाजलाई पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान सुरक्षित गरेको थियो।
आजको खेलमा विजयी हुने टोलीले उपाधिका लागि फाइनलमा स्थान बनाउनेछ, जहाँ उसको भेट लुम्बिनी लायन्ससँग हुनेछ। प्रतियोगिताको फाइनल खेल आगामी मंसिर ५ गते हुनेछ।