नेपाल-भारत सम्बन्धलाई ‘भोट बैंक’ नबनाउन पूर्वराजदूत सिंहको सुझाव, आर्थिक कूटनीतिमा जोड दिन आग्रह

नेपाल-भारत सम्बन्धलाई ‘भोट बैंक’ नबनाउन पूर्वराजदूत सिंहको सुझाव, आर्थिक कूटनीतिमा जोड दिन आग्रह

काठमाडौँ । भारत र युरोपेली संघ (ईयू) का लागि पूर्वनेपाली राजदूत तथा अर्थशास्त्री डा. दुर्गेशमान सिंहले नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्धलाई राजनीतिक स्वार्थ र ‘भोट बैंक’ का रूपमा प्रयोग गर्न नहुने बताएका छन्।

प्रधानमन्त्री बालेनको भारत भ्रमणको पूर्वसन्ध्यामा रिपोर्टर्स क्लब नेपालद्वारा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै पूर्वराजदूत सिंहले दुई देशबीच सीमासम्बन्धी समस्या विद्यमान रहे पनि सबै मुद्दा एकैपटक समाधान नहुने यथार्थलाई बुझेर आर्थिक सहकार्यलाई अघि बढाउनुपर्नेमा जोड दिए। छिमेकी मुलुक भारत र चीनको उदाहरण प्रस्तुत गर्दै उनले भने, “सीमासम्बन्धी समस्या हुँदाहुँदै पनि भारत र चीनले तीव्र आर्थिक प्रगति गरिरहेका छन्। नेपालले पनि अब आर्थिक कूटनीतिमा विशेष जोड दिनुपर्छ।”

प्रधानमन्त्री बालेनको आसन्न भारत भ्रमणलाई दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनाउने महत्त्वपूर्ण अवसरका रूपमा उपयोग गर्नुपर्ने सुझाव दिँदै डा. सिंहले भ्रमणका एजेन्डाहरू आर्थिक समृद्धिमा केन्द्रित हुनुपर्ने बताए। भारत ठूलो जनसंख्या भएको मुलुक भएकाले त्यहाँबाट उल्लेख्य मात्रामा पर्यटक भित्र्याउने ठोस कार्ययोजना तय गर्न सके नेपालको अर्थतन्त्रमा ठूलो टेवा पुग्ने उनको विश्लेषण छ।

“सीमाको समस्या छ, तर समुन्नतिको बाटोमा आपसी सहयोग रोकिनु हुँदैन र छेकबार लाग्नु हुँदैन,” सिंहले थपे, “भारतबाट ठूलो संख्यामा पर्यटक भित्र्याउने गरी प्रधानमन्त्रीको भ्रमणमा एजेन्डा बन्न सके मुलुकलाई आर्थिक समृद्धितर्फ लैजान सकिन्छ।”