काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) भारतको राजकीय भ्रमणका लागि नयाँदिल्ली प्रस्थान गर्दा उनी सवार जहाज प्रत्यक्ष उडान ट्र्याकिङ वेबसाइट ‘फ्लाइट राडार २४’ मा विश्वभरमै सबैभन्दा बढी हेरिएको उडान बनेको छ ।
आइतबार दिउँसो नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को नियमित उडानमार्फत प्रधानमन्त्री शाह दिल्ली प्रस्थान गरेलगत्तै उक्त जहाज फ्लाइट राडार २४ को विश्वव्यापी सूचीको ‘नम्बर एक’ मा पुगेको हो ।
उडान भरेको केही समयमै एकै पटक २ हजार २ सय १५ जनाले प्रत्यक्ष ट्र्याक गरिरहेको उक्त जहाज उडेको एक घण्टामा ट्र्याकिङ वेबसाइटमा लाइभ हेर्नेको संख्या बढेर चार हजार नाघेको छ । फ्लाइट राडार २४ को विवरणअनुसार प्रधानमन्त्री शाह सवार नेपाल एयरलाइन्सको ‘एयरबस ए–३२०’ (उडान नम्बर आरए २१७ र कल साइन आरएनए २१७) जहाज आइतबार दिउँसो २ बजेर ८ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको हो ।
भारतीय समयअनुसार जहाज ३ बजेर १९ मिनेटमा अवतरण हुने अनुमान ट्र्याकरमा देखाइएको छ । प्रधानमन्त्री शाहको भारत भ्रमणप्रति स्वदेश तथा विदेशमा रहेका नेपाली र सर्वसाधारणको उच्च चासोका कारण उडान ट्र्याकिङमा उल्लेख्य संख्यामा प्रयोगकर्ता जोडिएका हुन् ।