काठमाडौँ । पम्फा दर्जीले विवाह गर्दा श्रीमान्को थातथलोबारे सोधखोज गरिनन् । जीवन निर्वाहका लागि सिलाइ सीप र श्रीमान्को साथ पर्याप्त थियो । तर, श्रीमान्को मृत्युपछि उनको जीवनमा पहिचान र नागरिकताको प्रश्न खडा भयो ।
नेपालमै जन्मिएकी पम्फा आफ्नै देशमा नागरिकताविहीन हुनुपर्दाको पीडासँग संघर्ष गरिरहेकी छन् । उनको पीडा आफूमा मात्र सीमित छैन । छोराछोरी र नातिनातिनाले समेत नागरिकताविहीन हुनुपर्ने अवस्था आएपछि उनी थप चिन्तित छिन् । उनी भन्छिन्, “हामी तीन पुस्ता नै अनागरिक हुने भयौँ ।”
पम्फाका अनुसार उनको माइती गाउँमा घुम्दै आएका एक युवकसँग विवाह भएको थियो । १० सन्तानमध्ये जेठी उनको परिवार गरिबीको चपेटामा थियो । लुगा सिलाउन सिपालु युवकले परिवार पाल्न सक्ने ठानेर आमाबुबाले उनको विवाह गरिदिएका थिए ।
“केटो सिलाउन सिपालु छ, पाल्छ भनेर बिहे गरिदिनुभयो,” पम्फाले भनिन्, “न घर कहाँ भनेर माइतीले सोधे, न मैले नै सोधेँ ।” त्यसपछि सिलाइ र मजदुरी गर्दै उनको दाम्पत्य जीवन बित्यो ।
रोजगारीको सिलसिलामा ३५ वर्षअघि काठमाडौं आएकी पम्फाका श्रीमान्को मृत्यु भएको दुई दशकभन्दा बढी भइसकेको छ । नागरिकता नहुँदाको समस्या उनले त्यतिबेला अझ बढी भोग्नुपर्यो, जतिबेला छोराछोरीको नागरिकता र जन्मदर्ता पनि बनाउन सम्भव भएन । अहिले नातिनातिनाको जन्मदर्ता नहुँदा उनीहरू विद्यालय जानबाट पनि वञ्चित छन् । “आखिर म पनि यही देशको हुँ । मेरो जन्मथलो यही देश हो । मेरो नागरिकता किन बन्दैन ? बुझ्नै सकिनँ,” उनले भावुक हुँदै भनिन् ।
नातिनातिनासम्म नागरिकताविहीन हुनुपर्ने अवस्था आउने हो कि भन्ने चिन्ताले पम्फालाई सताइरहेको छ । त्यसैले उनी छोराछोरी र नातिनातिनाको नागरिक पहिचानका लागि हारगुहार गरिरहेकी छन् । उनका अनुसार उनको जन्म २०२५ सालमा भएको हो । आफूले नागरिकता नहुँदा भोग्नुपरेको सास्ती पछिल्लो पुस्ताले भोग्न नपरोस् भन्ने उनको चाहना छ ।
“दुई छोराको नागरिकता नहुँदा न रोजगारी पाएका छन्, न पढ्न नै पाए । बैंक खाता खोल्ने अवसरबाट समेत वञ्चित छौँ,” उनले भनिन् । ज्यामी काम गरेर गुजारा गर्ने छोराहरूले नागरिकता नभएकै कारण त्यही काम पनि गुमाउनुपरेको उनको भनाइ छ ।
नागरिकता नहुँदा परिवारको रोजीरोटी खोसिनाका साथै राज्यबाट उपलब्ध हुने विभिन्न सुविधाबाट समेत वञ्चित हुनुपरेको उनले बताइन् । माइतीपट्टिबाट नागरिकता बनाउने प्रयास पनि नगरेको होइन । तर, विवाह गरेर गएकी छोरीको नागरिकता माइतीबाट नबन्ने भन्दै स्थानीय निकायले फर्काएपछि उनी निराश भएर काठमाडौं फर्किइन् ।