काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको आगामी कार्ययोजना, विपद्पछिको पुनर्निर्माण, सुकुम्बासी व्यवस्थापन र स्थानीय निर्वाचनका विषयमा विस्तृत छलफल हुने भएको छ।
ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा मङ्गलबार बसेको बैठकमा महामन्त्री प्रदीप पौडेलले ६ वटा प्रमुख एजेन्डा प्रस्तुत गरेका छन्। सभापति गगनकुमार थापाको अध्यक्षतामा बसेको बैठकको सुरुवातमै सभापति थापाले समसामयिक राजनीतिक विषयमा विशेष सम्बोधन गरेका थिए।
बैठकमा पार्टीको आगामी कार्यभार र ‘हामी तयार छौँ’ अभियान सञ्चालन गर्ने विषयलाई पहिलो एजेन्डाका रूपमा राखिएको छ। यसैगरी, भोटेकोशी र बूढीगण्डकीमा आएको विपद्पछिको पुनर्स्थापना तथा पुनर्निर्माणबारे छलफल गर्ने कार्यसूची पनि तय गरिएको छ। त्यस्तै, विस्थापित सुकुम्बासीको व्यवस्थापन र नागरिक सरोकारका अन्य विषयहरू पनि बैठकको एजेन्डामा समेटिएका छन्।
बैठकमा सरकारले पछिल्लो समय गरेका गतिविधिहरूको समीक्षा गरिनुका साथै आगामी स्थानीय निर्वाचनबारे प्रारम्भिक छलफल गर्ने तयारी कांग्रेसले गरेको छ। यीबाहेक बैठकमा अन्य विविध विषयमा समेत छलफल हुने पार्टीले जनाएको छ।
कांग्रेस केन्द्रीय कार्यसमितिको अर्को बैठक भोलि बुधबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमै बस्नेछ।