विद्युत् प्राधिकरणको स्काडा प्रणाली र डिजिटल सञ्जाल विस्तारको कागजात ७ दिनभित्र पेस गर्न लेखा समितिको निर्देशन

विद्युत् प्राधिकरणको स्काडा प्रणाली र डिजिटल सञ्जाल विस्तारको कागजात ७ दिनभित्र पेस गर्न लेखा समितिको निर्देशन

काठमाडौं।  प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले नेपाल विद्युत् प्राधिकरणको डिजिटल सञ्चार सञ्जाल तथा स्काडा (SCADA) प्रणाली विस्तारसम्बन्धी सम्पूर्ण कागजात सात दिनभित्र पेस गर्न निर्देशन दिएको छ।

प्राधिकरणको डिजिटल सञ्चार सञ्जाल र स्काडा प्रणाली विस्तारको ठेक्का प्रक्रियामा अनियमितता भएको भन्दै उजुरी परेपछि समितिको आज बसेको बैठकले यस्तो निर्देशन दिएको हो। बैठकमा भएको छलफलपछि समिति सभापति भरतबहादुर खड्काले उक्त आयोजनासँग सम्बन्धित कागजातहरू सात दिनभित्र समितिमा उपलब्ध गराउन प्राधिकरणलाई निर्देश गरे।

सभापति खड्काले लोकतन्त्रको मुख्य मूल्य र मान्यता नै विधि, प्रणाली, पद्धति र प्रक्रिया भएको उल्लेख गर्दै सोहीअनुरूप काम भए–नभएको अध्ययन गर्न कागजात माग गरिएको स्पष्ट पारे।

प्राप्त कागजातको अध्ययनपछि समितिले आफ्नो क्षेत्राधिकारभित्र रहेर थप कदम चाल्ने जानकारी दिँदै उहाँले समिति अख्तियार वा अदालत नभएकाले आफ्नै कार्यक्षेत्रको सीमाभित्र रहेर निष्पक्ष काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

बैठकमा बोल्दै सांसदहरू मनिष झा र रुकेश रञ्जितलगायतले प्राधिकरणले विभिन्न परियोजनामा पटक–पटक एउटै कम्पनीलाई ठेक्का दिएको भन्दै प्रश्न उठाए। साथै, संवेदनशील डिजिटल डेटा सुरक्षाको सुनिश्चितता नरहेको र विश्वबजारबाट विस्थापित हुन लागेको पुरानो प्रविधि नेपाल भित्र्याउन खोजिएको हो कि भन्दै सांसदहरूले गम्भीर आशंका व्यक्त गरेका थिए।