प्रधानमन्त्री बालेनको भारत भ्रमणमा ८० देखि ९० प्रतिशत सहमति पुरानै निरन्तरता : विश्लेषक खनाल

प्रधानमन्त्री बालेनको भारत भ्रमणमा ८० देखि ९० प्रतिशत सहमति पुरानै निरन्तरता : विश्लेषक खनाल

काठमाडौ। वरिष्ठ पत्रकार तथा भू–राजनीतिक मामिलाका जानकार गोपाल खनालले प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणका क्रममा भएका ८० देखि ९० प्रतिशत सहमति पुरानै एजेन्डाको निरन्तरता भएको टिप्पणी गरेका छन् ।

रिपोर्टर्स क्लब नेपालमा आयोजित ‘प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणः उपलब्धि, कूटनीतिक सन्तुलन र नेपालको राष्ट्रिय हित’ विषयक साक्षात्कार कार्यक्रममा बोल्दै खनालले भ्रमणका क्रममा केही सकारात्मक पहल भए पनि अधिकांश विषय विगतका सरकारहरूले नै उठाउँदै आएका पुरानै मुद्दा रहेको बताए ।

‘प्रधानमन्त्रीले वैदेशिक भ्रमणमा जाँदा मुख्य रूपमा राष्ट्रिय हित हेर्ने हो,’ खनालले भने, ‘प्रधानमन्त्री बालेनको भारत भ्रमणले पुराना ब्यागेजबाट मुक्त भएर द्विपक्षीय सम्बन्ध अघि बढाउन खोजेको देखिन्छ । उहाँले देशहितकै पक्षमा केही काम गर्न खोज्नुभएको छ । तर, सहमति भएका ८० देखि ९० प्रतिशत विषय पुरानै निरन्तरता हुन् ।’

भ्रमणका उपलब्धिहरूको समीक्षा गर्दै उनले नेपालमा ‘आईटी कलेज’ खोल्ने विषय नयाँ भए पनि एयर रुट, पेट्रोलियम पाइपलाइन विस्तार लगायतका अन्य विषय पुरानै सरकारहरूको पालादेखि उठ्दै आएको उल्लेख गरे । यद्यपि, एयर रुट र पेट्रोलियम पाइपलाइनको प्रयोग गर्न पाउनु तथा भोटेकोशी बाढीपछिको पुनर्निर्माणमा भारतले ठूलो धनराशि सहयोग गर्नु सकारात्मक पक्ष रहेको उनको भनाइ छ ।

नेपालको परराष्ट्र नीति र भू-राजनीतिक सन्तुलनबारे चर्चा गर्दै खनालले छिमेकी मुलुकहरूसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।

‘नेपालको परराष्ट्र नीतिको पहिलो प्राथमिकता भारत र चीन नै हुन्, र यी दुईमध्ये पनि अझ पहिलो प्राथमिकता भारत नै हो,’ उनले भने, ‘नेपालले दुवै छिमेकी देशसँग उचित समन्वय र सन्तुलन कायम गरेर आफ्नो विकास निर्माणलाई अघि बढाउनुपर्छ ।’