काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले स्वास्थ्य बीमासम्बन्धी गुनासा सम्बोधन गर्दै हरेक नागरिकलाई बीमाको पहुँचमा ल्याउने गरी कार्यक्रम सुधार्नुपर्ने बताएकी छन् ।
सिंहदरबारस्थित कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा मङ्गलबार आयोजित बैठकमा उनले उपचार आवश्यक पर्दा बीमाको सुविधा पाइन्छ भनेर ढुक्क हुने वातावरण बनाउनुपर्नेमा जोड दिइन् ।
स्वास्थ्य बीमामा देखिएका समस्याको समाधान खोज्न छलफल अघि बढाइएको उल्लेख गर्दै मन्त्री गौतमले तत्काल सुधारका उपाय पहिल्याउनुपर्ने बताइन् । राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमको वित्तीय दिगोपना र एकीकृत सामाजिक सुरक्षा प्रणालीतर्फको बाटो पहिल्याउन उक्त बैठकको आयोजना गरिएको थियो ।
बैठकमा मन्त्री गौतमले भनिन्, “घरमा कोही बिरामी पर्दा परिवारको पहिलो चिन्ता उपचारको पैसा कहाँबाट जुटाउने भन्ने हुनु हुँदैन । हरेक नागरिकले ‘मसँग स्वास्थ्य बीमा छ, मलाई चाहिएको बेला उपचार पाउँछु’ भनेर ढुक्क हुन सक्नुपर्छ ।”
बीमामा योगदान गर्न नसक्ने विपन्न नागरिकको जिम्मा राज्यले लिनुपर्ने पनि मन्त्री गौतमको भनाइ थियो । उनले भनिन्, “नागरिकका गुनासा सुनेर हामीले खोज्नुपर्ने सुधार त्यही हो । नागरिकका गुनासा सम्बोधन गर्दै अस्पताल पुग्दा स्वास्थ्य बीमाको सुविधा सहजै पाउने व्यवस्था मिलाउनु नै सुधारको प्राथमिकता हुनुपर्छ ।”
बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय, स्वास्थ्य बीमा बोर्ड र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रतिनिधि सहभागी थिए । छलफलका क्रममा मन्त्री गौतमले बीमामार्फत गुणस्तरीय उपचार सेवा दिन सरकारी अस्पतालको सञ्जाल मात्र पर्याप्त छ कि निजी अस्पताललाई पनि कार्यक्रममा जोड्नुपर्छ भन्ने विषयमा प्रश्न उठाएकी थिइन् ।
यस्तै, बैठकमा हाल छुट्टाछुट्टै मन्त्रालयअन्तर्गत रहेका कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा कोष र स्वास्थ्य बीमा बोर्डको योगदान सङ्कलन तथा भुक्तानीलाई एउटै प्रणालीमा ल्याउने प्रस्तावमाथि गहन छलफल भएको थियो । ती सबै निकायको एकीकरणका लागि विद्यमान ऐनहरू संशोधन गरेर तीनै निकायलाई जोड्ने वा एउटै छाता ऐनअन्तर्गत छुट्टाछुट्टै कार्यगत इकाइ राख्ने भन्ने दुई कानुनी विकल्पबारे बैठकमा विमर्श भएको मन्त्रालयले जनाएको छ ।