फोहोरमैला व्यवस्थापन विधेयकमा दण्ड–सजायसँगै जनचेतना र प्रोत्साहन समेट्न सांसद भट्टराईको सुझाव

फोहोरमैला व्यवस्थापन विधेयकमा दण्ड–सजायसँगै जनचेतना र प्रोत्साहन समेट्न सांसद भट्टराईको सुझाव

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सृष्टि भट्टराईले फोहोरमैला व्यवस्थापनसम्बन्धी कानुनलाई प्रभावकारी बनाउन केवल दण्ड र सजायमा मात्र केन्द्रित नभई जनचेतना, प्रोत्साहन तथा व्यावहारिक पक्षलाई समेत समानान्तर रूपमा अघि बढाउनुपर्ने बताएकी छन्।

‘फोहोरमैला व्यवस्थापन विधेयक, २०८३’ माथि सरोकारवालाहरूसँग आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै सांसद भट्टराईले फोहोर व्यवस्थापनलाई समग्र वातावरण, वन, खानेपानी, स्वास्थ्य र सामाजिक न्यायसँग जोडेर हेर्नुपर्ने धारणा व्यक्त गरिन्।

विधेयकको प्रारम्भिक अध्ययन र सरोकारवालाका सुझाव सुन्दा यस विषयलाई अझ गहिराइमा पुगेर विश्लेषण गर्नुपर्ने आवश्यकता महसुस भएको उनको भनाइ थियो। फोहोरमैला व्यवस्थापनका विषयलाई केवल कानुनी शब्दावली र सजायमा मात्र सीमित नराखी यसको वास्तविक अवस्था तथा स्थानीय तहमा देखिएका समस्याहरूलाई समेत समेट्नुपर्ने उनले जोड दिइन्।

आफू इटहरीको भएको उल्लेख गर्दै सांसद भट्टराईले तुलनात्मक रूपमा त्यहाँ फोहोर व्यवस्थापनको अवस्था केही राम्रो देखिए पनि स्थानीय सरकारहरूबीच पर्याप्त साझेदारी र समझदारी नहुँदा विभिन्न समस्याहरू उत्पन्न हुने गरेको बताइन्। विशेषगरी साँझको समयमा वन क्षेत्रमा फोहोर जलाउने कार्यले अत्यधिक धुवाँ र प्रदूषण बढाउने गरेको र यसले सर्वसाधारणलाई हिँडडुल गर्न तथा श्वासप्रश्वास गर्नसमेत कठिनाइ सिर्जना गरेको अनुभव उनले साझा गरिन्।

छोटकरीमा भन्नुपर्दा, विधेयकमा कसुर र सजायका व्यवस्थालाई मात्र प्राथमिकता दिइएको देखिएकाले त्यसको सट्टा जनचेतना अभिवृद्धि, नियमको प्रभावकारी कार्यान्वयन र राम्रो काम गर्नेलाई पुरस्कृत (प्रोत्साहन) गर्ने व्यवस्थालाई पनि सँगसँगै समेट्नुपर्ने सांसद भट्टराईको प्रमुख जोड थियो।