मलेसिया कामदार ठगी प्रकरण : पूर्वमन्त्रीद्वय कुँवर र यादवसहितका आरोपीलाई थप दुई दिन हिरासतमा राख्न अनुमति

मलेसिया कामदार ठगी प्रकरण : पूर्वमन्त्रीद्वय कुँवर र यादवसहितका आरोपीलाई थप दुई दिन हिरासतमा राख्न अनुमति

काठमाडौं। मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणका नाममा गैरकानुनी रूपमा रकम असुली गरी ठगी गरेको आरोपमा पक्राउ परेका दुई पूर्वमन्त्रीसहितका प्रतिवादीलाई जिल्ला अदालत काठमाडौँले थप दुई दिन हिरासतमा राख्न अनुमति दिएको छ।

अदालतले मङ्गलबार पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादवसहितका आरोपीहरूलाई थप दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई म्याद थपेको हो।

सीआईबीको प्रारम्भिक अनुसन्धानका क्रममा मलेसिया जाने नेपाली कामदारसँग बायोमेडिकल सर्भिस शुल्कका नाममा 'म्याक्रोटेक प्रालि' ले गैरकानुनी रूपमा रकम असुलेको खुलेको छ। मेडिकल स्क्रिनिङका नाममा अतिरिक्त स्वास्थ्य परीक्षण गर्न बाध्य पारेर कामदारहरूबाट कुल १ अर्ब ६९ करोड २ लाख २४ हजार रुपैयाँ असुल गरिएको देखिएको छ। उक्त अवैध असुलीलाई वैधानिकता दिन तत्कालीन मन्त्रीद्वय रामेश्वर राय यादव र शेरबहादुर कुँवरको कार्यकालमा चार पटक मन्त्रीस्तरीय निर्णय भएको भेटिएको छ। सोही निर्णयका आधारमा स्वास्थ्य परीक्षणका लागि काठमाडौँका ३६ वटा मेडिकल सेन्टरहरू तोकिएका थिए।

प्रहरीले यस प्रकरणमा पहिलो चरणमा चार जनालाई नियन्त्रणमा लिएको थियो। जसमा काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–१ का ४२ वर्षीय कैलाश खड्का, भक्तपुरको चाँगुनारायण नगरपालिका–९ का ४० वर्षीय रवीन्द्र केसी, गोरखा घर भई काठमाडौँको टोखा नगरपालिका–११ बस्ने ४२ वर्षीय प्रवीण तिवारी र सर्लाही घर भई गोकर्णेश्वर नगरपालिका–६ बस्दै आएका ४५ वर्षीय रामपुकार तिवारी रहेका छन्।

त्यसपछि अनुसन्धानको दायरा फराकिलो पार्दै सीआईबीले मङ्सिर २ गते पूर्वमन्त्रीद्वय कुँवर र यादवसहित थप ६ जना उच्च पदस्थ व्यक्तिहरूलाई पक्राउ गरेको थियो। दोस्रो चरणमा पक्राउ पर्ने अन्यमा यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेल, पूर्वसचिव विनोद केसी, तत्कालीन सहसचिव उमेश ढुङ्गाना र उपसचिव निर्मला गुरुङ रहेका छन्।

ब्यूरोले पक्राउ परेका सबै आरोपीमाथि ठगीसम्बन्धी कसुर तथा सङ्गठित अपराध निवारण ऐन, २०७० अन्तर्गत म्याद थप गरी विस्तृत अनुसन्धान अघि बढाएको छ। विसं २०७५ को अन्तिमतिरदेखि म्याक्रोटेक प्रालिले मलेसिया जाने प्रत्येक कामदारसँग १०० मलेसियन रिङ्गिटका दरले तत्कालीन विनिमयदरअनुसार ३ हजार १६० रुपैयाँ अतिरिक्त शुल्क असुल्दै आएको अनुसन्धानबाट खुलेको छ।