काठमाडौं। महिला तथा बालिकामाथि हुने सबै प्रकारका हिंसा, विभेद र अन्यायको अन्त्य गर्ने लक्ष्यका साथ आज नोभेम्बर २५ का दिन लैङ्गिक हिंसाविरुद्धको अन्तर्राष्ट्रिय दिवस विश्वभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।
डोमिनिकन गणतन्त्रका तीन राजनीतिक अभियन्ता मिराबल दिदीबहिनीको सम्झनामा सन् १९८१ देखि महिला अधिकारकर्मीहरूले नोभेम्बर २५ लाई लैङ्गिक हिंसाविरुद्धको दिवसका रूपमा मनाउन थालेका हुन् । सन् १९६० मा तत्कालीन शासक राफेल त्रुजिलोको आदेशमा उनीहरूको निर्मम हत्या गरिएको थियो ।
महिलामाथिको हिंसा अन्त्यका लागि विश्वव्यापी आवाज बढ्दै गएपछि संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९९३ डिसेम्बर २० मा पारित प्रस्ताव नम्बर ४८/१०४ मार्फत महिलाविरुद्ध हुने हिंसा उन्मूलनसम्बन्धी घोषणापत्र अनुमोदन गरेको थियो । त्यसको केही वर्षपछि सन् २००० फेब्रुअरी ७ मा महासभाले नोभेम्बर २५ लाई महिलाविरुद्ध हुने हिंसा उन्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका रूपमा औपचारिक मान्यता प्रदान गरेको हो ।
यही दिवसको सन्दर्भ पारेर सन् २०२६ मा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान पनि सञ्चालन भइरहेको छ । यस वर्षको अभियानले ‘न्याय सुनिश्चित गरौँ, पीडितको संरक्षण गरौँ, दण्डहीनताको अन्त्य गरौँ’ भन्ने मूल नारालाई प्राथमिकता दिएको छ ।